काठमाडौं । उत्तर कोरियाले आफ्नो देशका ८ लाख नागरिकले अमेरिकाविरुद्ध युद्ध लड्न सेनामा भर्ती हुने निर्णय गरेको दाबी गरेको छ ।
दक्षिण कोरिया र अमेरिकाको सेनाले संयुक्त अभ्यास गरिरहेको बेला यो जानकारी सार्वजनिक भएको हो ।
रोयटर्सले स्थानीय पत्रिका रोडोङ सिनमुनलाई उद्धृत गर्दै करिब ८ लाख मजदुर र विद्यार्थीले १ दिनभित्र सेनामा भर्ती हुने निर्णय गरेको बताएको हो ।
उत्तर कोरियाको बढ्दो आणविक र मिसाइल खतरालाई मध्यनजर गर्दै दुवै देशले यो वार्षिक सैन्य अभ्यास गरिरको छ । यस अभ्यासको विरोधमा उत्तर कोरियाले धेरै ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरिसकेको छ ।
उसले हालै १६ मार्चमा ह्वासोङ–१७ इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइल (आईसीबीएम) प्रक्षेपण गरेको थियो । क्षेप्यास्त्र कोरियाली प्रायद्वीप र जापान बीचको समुद्रमा खसेको थियो ।
दक्षिण कोरियाका राष्ट्रपति शिखर सम्मेलनमा भाग लिन टोकियो प्रस्थान गर्ने क्रममा उक्त प्रक्षेपण भएको हो ।
उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङ गत हप्ता संयुक्त राष्ट्र सुरक्षा परिषदमा आक्रोशित भएकी छन् । उनले अमेरिकाले प्योङयाङविरुद्ध शत्रुतापूर्ण नीति लिएको आरोप समेत लगाएकी छन् ।
उत्तर कोरियाको आधिकारिक समाचार एजेन्सी केसीएनएका अनुसार उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियाबीच जारी युद्ध अभ्यासलाई उत्तेजक गतिविधि भएको बताएको छ । दुवै देशले ठूलो मात्रामा आक्रामक चाल चलाएर उसलाई उक्साइरहेका छन् ।
प्रतिक्रिया