त्रिभुवन विश्वविद्यालयहरुका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुमा हिजो भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावको नतिजा आउन सुरु भएको छ । हिजो त्रिभुवन विश्वविद्यालयका २१२ वटा क्याम्पसमा स्ववियु चुनाव भएको थियो । १४ वर्षपछि भएको चुनावमा ६० प्रतिशत विद्यार्थीहरुले मतदानमा सहभागीता जनाएका छन् ।
स्ववियु निर्वाचन अन्तरगत केन्द्रीय क्याम्पस कीर्तिपुरको स्ववियु सभापतिमा नेविसङ्घका श्यामराज ओझा निर्वाचित हुनुभएको छ । थापाथली इञ्जिनियरिङ क्याम्पसमा नेविसङ्घका विक्रम शाही तथा पूर्वाञ्चल इञ्जिनियरिङ क्याम्पस धरानको स्ववियुमा नेविसङ्घकै नवीन श्रेष्ठ विजयी हुनुभएको छ ।
त्यस्तै काठमाण्डौको पुल्चोक इञ्जिनियरिङ क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका विराज अर्याल विजयी हुनु भएको छ । काठमाण्डौको पिपुल क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका रञ्जित भण्डारी र नर्सिङ क्याम्पस विराटनगरको स्ववियु सभापतिमा पनि अनेरास्ववियुकै प्रशंसा पौडेल विजयी हुनुभएको छ । विराटनगरको स्नातकोत्तर क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका निर्मलप्रसाद गजुरेल विजयी हुनुभएको छ ।
उता सबैभन्दा धेरै विद्यार्थी रहेका त्रिचन्द्र बहुमुखी क्याम्पस, नेपाल कमर्स क्याम्पस मीनभवन, पाटन बहुमुखी क्याम्पस, अमृत साइन्स क्याम्पस, रत्नराज्यलक्ष्मी क्याम्पस, विश्वभाषा क्याम्पस र कोटेश्वर बहुमुखी क्याम्पसमा हिजो चुनाव हुन सकेको छैन ।
त्यसैगरी पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पस, दार्चुलाका शङ्खरपुर क्याम्पस र लतिनाथ क्याम्पस, डोटीको डोटी बहुमुखी क्याम्पस तथा आठबीस शिक्षा क्याम्पसमा मतदान स्थगित भएको छ । बाजुरा क्याम्पसमा पनि विद्यार्थी सङ्गठनबीच झडप हुँदा मतदान प्रक्रिया स्थगित भएको छ । विधार्थि भर्ना तथा अन्य कारणले स्थगित गरिएका १६ वटा क्याम्पसमा आउँदो ८ गते चुनाव गर्ने गरि त्रिविले निर्देशन दिएको छ । देशभरका विवादित क्याम्पसहरुमा समस्या समाधान गरि ८ गते निर्वाचनको तयारि भएको त्रिभुवन विश्वविद्यालयले जनाएको छ ।
प्रतिक्रिया