काठमाडौं– प्रतिनिधिसभा बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन) विधेयक, २०७९ पेस गरिएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उक्त विधेयक संसदमा पेस गरेकी हुन् ।
त्यस्तै संसदमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीको तर्फबाट समितिका सदस्य रमेश लेखकले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेस गरेका थिए ।
जसमा संसदले सर्वसम्मतिले प्रश्तावलाई स्वीकृत गरेको हो । संसदमा राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त ‘अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७८ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई बैठकको बहुमतले स्वीकृत गरेको छ ।
बैठकको अन्त्यमा सभामुख देवराज घिमिरले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चैत ६ गते विश्वासको मत लिने कार्यक्रम रहेको सभालाई जानकारीसमेत गराएका थिए ।
प्रतिनिधिसभाको अर्को बैठक यही चैत ६ गते सोमबार दिनको १ बजे बस्नेछ ।
प्रतिक्रिया