सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलको सबैभन्दा ठूलो चुनौती भनेको ३ करोड नेपाली गर्वका साथ ‘मेरो राष्ट्रपति’ भन्न सक्ने तुल्याउनु हो । यदि सर्वसाधारणले राष्ट्रपतिको नाम लिँदा तुक्ष उपाधि जोड्ने अथवा (नामको) पछाडिको अक्षर बिगारेर ‘द्रे’ तुल्याउने गरे भने कार्यकालभरि सरकारी कार्यालयमा तिनको तस्बिर झुन्डिने तथा इतिहासमा तेस्रो राष्ट्रपति लेखिनेमै सीमित हुनेछन् । गरिमामय पद प्राप्ति जति सहज हुन्छ त्यसको उक्त पदको गरिमा कायम गर्न त्यतिनै कठिन हुन्छ । पदीय गरिमा उच्च राख्ने कार्य अत्यन्त नै चुनौतीपूर्ण हुन्छ । जहाँसम्म व्यक्तिगत सम्मानको प्रश्न छ त्यो पदीय मर्यादा अनुरूप कार्य गर्नेले मात्र हो पाउने हो । सम्मानको भाव आर्जन गर्नेले मात्र सम्मान पाउँदछ । करबल गरेर आदरणीय बन्ने प्रयास सफल हुँदैन । त्यसैगरी दुई चार चाटुकारले प्रदर्शन गरेको सम्मानलाई जनसम्मान ठहर गर्नु गलत हुन्छ ।
यदि राजनैतिक पृष्ठभूमि, सत्ता सञ्चालन अनुभब, शैक्षिक योग्यता, जेलजीवन अवधि तथा शालिन व्यक्तित्व आदि गुणहरूलाई आधार मान्ने हो भने रामचन्द्र पौडेल उक्त पदका सुहाउँदो पात्र हुन् । कलिलो उमेरमै राजनैतिक जीवन प्रवेश गरेका पौडेल २०१७ सालपछि नेपाली कांग्रेसको मियो जोगाउने दोस्रोे युवा पुस्ताको नेता हुन् । तिनका अग्रज कमल चित्रकार, शंकर घिमिरे तथा दमन ढुंगाना आदिलाई प्रथम युवा पुस्ताको नेता मान्ने हो भने । पौडेलको दौतरीमध्ये भाबेन्द्र खड्गा, मार्सलजुलुम शाक्य, ओमकार श्रेष्ठ, विपीन कोइराला, अर्जुननरसिंह केसी, शिवबहादुर खड्गा, वीरेन्द्रभक्त श्रेष्ठ, रामशरण महत, देवेन्द्र नेपाली, प्रदीप गिरी, ज्ववहार जोशी, टीका पोखरेल, मछिन्द्र पाठक, चिरञ्जिबी वाग्ले आदि प्रमुख हुन् । प्रथम पुस्ताका नेपाली कांग्रेस आबद्ध युबा नेताले नै दोस्रोे पुस्ताका नेताहरू क्रियाशील तुल्याएका हुन् । तिनलाई संगठित भएर परिचालित गर्नेमा उनीहरूको योगदान छ । दल प्रतिबन्धित रहेको कालखण्डमा कांग्रेस समर्थक युबालाई जुटाएर, प्रजातान्त्रिक विद्यार्थी समूह, तरुण क्लब हुँदै नेपाल विद्यार्थी संगठनको गठन गर्ने कार्य भने दोस्रोे पुस्ताको देन हो ।
तीन दशक लामो (२०१७–२०४७) अवधि दोस्रोे पुस्ताका नेताहरूले राजाको सक्रिय नेतृत्वमा रहेको पञ्चायती शासन प्रणाली विरुद्ध संघर्ष गरे । पञ्चायत प्रणाली लोकतन्त्र विरोधी मात्र थिएन नेपाली कांग्रेसलाई निर्मूल तुल्याउन कटिबद्ध थियो । कांग्रेस समर्थक युबा पञ्चहरूका निमित्त आँखाको कसिंगर थिए । विद्यार्थी कालखण्डमा जेल सजाय भोग्नु तथा भूमिगत जीवन निर्वाह गर्न दोस्रोे पुस्ताका नेताहरूको लागि पानी पँधेरो सरह थियो । उनीहरूको आर्थिक अवस्था अत्यन्त करुणादायी थियो । आर्थिक विपन्नताको चक्रव्यूहमा फसेकै हुनाले गर्दा कतिपयले विद्यार्थी जीवनपछि राजनीतिलाई सदाका निमित्त त्यागे । केही पेसागत जीवनीतर्फ उन्मुख रहे । कतिले आत्महत्याको सहारा लिए । केही पञ्चायतको शरणमा पुगे । अविचलित रहेर विद्यार्थी जीवन समापनपश्चात् पनि पञ्चायत विरोधी गतिविधिलाई निरन्तरता दिँदै अघि बढ्ने सीमित दोस्रोे पुस्ताका नेताहरूमध्ये एक हुन् रामचन्द्र पौडेल ।
दोस्रोे पुस्ताका नेताहरू बीपीको अनुयायी थिए । बेलाबखत बीपीको निर्देशन प्राप्तिका खातिर बनारस पुग्ने गर्थे । तर, उनीहरू बीपीको क्रान्तिको आह्वानको कार्यक्रममा सहभागी भएनन् । बरु राजधानी केन्द्रित रहेर कृष्णप्रसाद भट्टराईको निर्देशनमा सक्रिय रहे । समरणका निमित्त उक्त कालखण्डमा (जेलबाट छुटेपछि बीपी तथा गणेशमान सिंह निर्वासनमा रहेर (बनारस) प्रजातन्त्र पुनस्र्थापनाका निमित्त सशस्त्र क्रान्तिको तयारीमा जुट्नु भएको थियो । कृष्णप्रसाद भने सत्याग्रह (दसौं हजारको जुलुसले नारायणहिटी घेर्ने) गर्नुपर्ने मत राख्नु हुन्थ्यो ।
दोस्रोे पुस्ताका नेताहरूमध्ये ‘फस्ट एमोंग दि इक्वेल’ साबित भए शेरबहादुर देउवा तथा रामचन्द्र पौडेल । प्रजातन्त्रको पुनस्र्थापना कालखण्ड उनीहरूका लागि अत्यन्त लाभप्रद रह्यो । विगत ३२ वर्षको अवधिमा देश तथा नेपाली काग्रेस दलभित्र अनेक उथलपुथल भए । त्यस्ता उथलपुथलले यी दुई पात्रलाई सत्ताको न्यानोपना बिमुख भने परेन । उनीहरूलाई त्यस्ता उथलपुथलप्रतिको जिम्मेवारी बहन गर्न पनि परेन । माओवादीको दशवर्षीय सशस्त्र द्वन्द्व, संस्थापक नेता गणेशमान सिंह तथा कृष्णप्रसादको दल त्यागजस्ता घटनाले उनीहरूको राजनैतिक जीवनलाई प्रभावहीन रह्यो । तीन वर्ष लामो गृहमन्त्री पदबाट सुरु भएको थियो शेरबहादुरको मन्त्री पद सदस्यताको यात्रा । तिनलाई पुनः मन्त्री बन्न नै परेन बरु पाँच पटक मन्त्रिपरिषद्को नेतृत्व गर्ने अवसर मिल्यो । प्रधानमन्त्री पद प्राप्त नभए तापनि रामचन्द्रलाई प्रमुख मन्त्रालयहरू, प्रतिनिधिसभाको नेतृत्वमा तथा उपप्रधानमन्त्रीको जिम्मेवारी आइपरे ।
रामचन्द्र पौडेलका राजनैतिक जीवनचक्रको सबैभन्दा पीडादायी घटना २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पराजय भोग्नु थियो । उक्त चोट पटकमा रन्थनिएका रामचन्द्रलाई नेपाली कांग्रेसको १४ औं महाधिवेशन झन् बढी घातकसिद्ध भयो । ‘संस्थापन इतरपक्ष गुट सञ्चालक’ तथा पार्टीका वरिष्ठ नेतालाई महाधिवेशनको पूर्वसन्ध्यामा ‘कसैले पनि सभापति पद उम्मेद्ववार‘ को हकदार ठहर गरेनन् । तिनको उम्मेद्ववारी प्रस्तावकसम्म पनि कोही भएनन् । उक्त पीडादायी अवस्थामा तिनलाई साथ तथा सान्त्वना दिन केवल युबाकालको दुःखका सहयात्री एवं दल सभापति शेरबहादुर देउवा मात्र भए । शेरबहादुरको नवीकरण गरिएको मित्रता पौडेलका निमित्त अस्ताएको राजनैतिक जीवनलाई पुनर्जागरण गर्ने मृत्यु सञ्जीवनी नै साबित भयो । शेरबहादुर देउवाकै सौजन्यमा उपलब्ध भएको माओवादीको बैसाखीको सहाराले पौडेललाई पुनः प्रतिनिधिसभा सदस्य निर्वाचित भए । पुष्पकमल दाहाल तथा खड्गप्रसाद ओलीबीचको दुई महिना लामो पुनर्मिलाप तथा पारपाचुकेले तिनको तालुमा आलु नै फलायो । शेरबहादुरकै सहयोगमा तिनलाई पुनः झन्डा फहराउँदै बुलेट ग्रुफ मर्सडिज गाडीमा सवार हुने अवसर मिलेको छ । जीवनको अन्तिम कालखण्डमा प्रधानमन्त्री हुने धोको पूरा नभए पनि देशको तेस्रोे राष्ट्रपतिको हैसियतले शीतल निवासमा विराजमान हुने अबसर प्राप्त भएको छ ।
लगातार तीन दशक सक्रिय राजतन्त्रको रैती जीवनबाट उन्मुक्ति प्राप्त गर्न विद्रोह गर्ने रामचन्द्र पौडेललाई इतिहासमा आफ्नो नाम सुरक्षित राख्ने अपूर्व अवसर मिलेको छ । विगतबाट तिनले पाठ सिकेकै हुनुपर्छ । ‘हाम्रो राजा हाम्रो देश ज्यानभन्दा प्यारो छ’ नारा घन्कँदा घन्किँदै राजसंस्थाको लोकप्रियता कसरी तीब्र गतिले ओरालो लाग्यो त्यसको तिनी प्रत्यक्षदर्शी हुन् । सर्वसाधारणको नजरबाट ‘विष्णु भगवान्को अवतार’को वास्तविकता खुलासा गर्ने राजनैतिककर्मी हुन् तिनी । चाटुककार आठपरियाको प्रशंसालाई वास्तबिकता ठान्दाठान्दी उक्त संस्था कसरी धराशायीमा परेर विस्थापित भयो उनीहरूले शूक्ष्म अध्ययन गरेकै हुनुपर्छ । गिरिजाप्रसाद, कृष्णप्रसाद, शेरबहादुर देउवा तथा सुशील कोइरालाको नेतृत्वको कालखण्डमा देशले तथा कांग्रेस दलले के कस्तो उपलब्धि हासिल गरे त्यसको समालोचनात्मक अध्ययन पनि तिनले गरेकै हुनुपर्छ । तिनका पूर्वज दुई राष्ट्रपतिको कार्यलाई सर्वसाधारणले कुन दृष्टिले हेरे त्यसको पनि त शूक्ष्म मूल्यांकन गरेकै होलान् ।
संघीय गणतन्त्र नेपालको नागरिक श्री ५ महाराजाधिराज अथवा श्री ३ महाराजको नयाँ अवतारको चाहना राख्दैनन् भन्ने तथ्य रामचन्द्र पौडेललाई राम्रोसँग थाहा हुनुपर्छ । राष्ट्रिय एकताको प्रतीक झुटो ‘भगवान्को अवतार’ होइन बरु यही भूमिमा जन्मे, हुर्केका छोरी अथवा छोरा हुन सक्छन् भन्ने विश्वासकै कारण देशवासीले गणतन्त्रलाई स्वीकारेका भन्ने वास्तविकतालाई तिनले आत्मासात् गरेकै हुनुपर्छ । राष्ट्रपति पद प्राप्त हुनु तिनका निमित्त एउटा शुभ अवसर हो भन्ने वास्तविकता रामचन्द्र पौडेललाईभन्दा बढी अरू कसलाई थाहा होला ?
देशवासी गौरवान्वित भएका छन् एक सादगी पहिचान निर्माण गरेको ब्यक्ति राष्ट्रपतिमा चयन भएकोमा । राष्ट्रपति रामचन्द्र पौडेलका सामुन्नेको अनेक चुनौतीमध्ये एक त्यो सादगी पहिचानलाई निरन्तरता दिनु पनि हो ।
तिन राम्रैसँग अवगत छन् देशवासी किन श्री ५ तथा श्री ३ बाट वाक्क दिक्क भएका थिए भन्ने बारेमा । त्यसैगरी तिनलाई यो पनि थाहा छ देशवासी मुजुरको प्वाँख सुशोभित कागलाई नागरिकले सम्मानको दृष्टिले होइन घृणाको नजरले हेर्छन् भन्ने । राष्ट्रपतिलाई राजाको रूपमा स्विकरिँदैन । राजसंस्था तथा राष्ट्रपति संस्थाबीच अत्यन्त ठूलो भिन्नता छ । उक्त भिन्नतालाई नजरअन्दाज गरेर राजाको रूपमा जनसमक्ष प्रस्तुत हुने प्रयत्नले यस संस्था प्रतिको सद्भाव तथा सम्मानमा आघात पु¥याएको छ । कुनै पनि बहानामा राजकीय ठाँट तडकभडकको प्रशंसा हुँदैन बरु त्यस्ता कार्यकलापले राजावादीलाई मौलाउने मलजल प्रधान गर्छ ।
सादगी छविलाई निरन्तरता दिएर संविधानले दिएको हकअधिकार उपयोग गर्नमा सीमित रहे भने निश्चय पनि रामचन्द्र पौडेल तीन करोड नेपालीका निमित्त ‘मेरो राष्ट्रपति’ हुने छन् । राजकीय तडकभडक, धृष्टराष्ट्र प्रवृत्तिलाई बढावा दिँदै पुनः कांग्रेस दलको सत्ताइतर पक्ष नेताको रूपमा तिनी प्रस्तुत भए भने नेपालीको मेरो राष्ट्रपति त तिनी हुने छैनन् नै पाएको अवसर दुरुपयोग गर्ने पात्रको प्रकृतिमा इतिहासले तिनलाई राख्नेछ ।
प्रतिक्रिया