देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

देवराजजी, सभामुख कि एमाले नेता ?


काठमाडौं । सभामुख पद संवैधानिक पद हो । यो पदमा निर्वाचित भइसकेपछि दलगत आबद्धता त्याग गर्नु गराइनु भनेको सबैको साझा भन्ने मान्यता स्थापित गर्नका लागि हो । नीतिगत छलफल गर्ने साझा थलोका निष्पक्ष र तटस्थ रेफ्रीको भूमिकामा रहने व्यक्तिले गर्ने आचरण व्यवहार र बोलीले संसद्को मर्यादा र गरिमासमेत बोकेको हुन्छ । वर्तमान प्रतिनिधिसभाका सदस्यलाई नीति नियममा रहेर अनुशासित प्रस्तुति दिए नदिएको छुट्ट्याउने र थुनछेकसमेत गर्ने स्थानमा छन्, सभामुख देवराज घिमिरे ।
प्रतिनिधिसभाका उनै सभामुख देवराज घिमिरेले मुलुकमा पीत पत्रकारिता निकै डरलाग्दो देखा परेको भन्दै भडास पोखेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको खल्तीको मान्छे भनेर चिनिने सभामुख घिमिरेले आफू हुर्किएको पार्टी सत्ताच्युत भएको आक्रोश पत्रकारिता जगत्सँग पोख्न खोजै झै गरी उनले पत्रकारहरूले जिम्मेवारीका साथ पत्रकारिता नगरेको जिकिरका साथ त्यसको प्रभाव समाजमा परिरहेको पनि बताए ।

त्यतिमात्र हैन सभामुख घिमिरेले पत्रकारहरू बिक्रीमा रहेको गम्भीर टिप्पणी पनि गरेका छन । शुक्रबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा उनले आफूमा यस्तो मान्यता रहेको बताएका हुन् ।
उनी त्यतिमै रोकिका छैनन् थर्काएर, किनेर, फकाएर बिग हाउसहरूले प्रभावित पारिरहेको दाबीसहित पत्रकारहरूलाई त्यसबाट मुक्त हुन पनि आग्रह गरे ।
सभामुख घिमिरेले सरकार र पत्रकारहरूबीचको सम्बन्ध हानिकारक रहेकाले सञ्चार क्षेत्रको समस्या झनै बढेर गएको पनि पत्रकार महासंघको टोली समक्ष राखेका थिए ।

‘पत्रकारहरू जति जिम्मेवारीसाथ पत्रकारिता गर्नु पर्दथ्यो । अन्यथा नलिनुहोला, त्यो खालको छैन । पीत पत्रकारिता अहिले पनि निकै डरलाग्दो छ । जे जे कारणले भए पनि तिनीहरू प्रभावित छन् । अझ अर्को भन्ने हो भने त बिक्रीमा छन’, उनले भने— ‘संघ बिक्रीमा छ भन्यो सभामुखले भन्लान् कि भनेर मैले यसलाई रोकिरहनु पर्दैन । बिग हाउसहरूले प्रभावित पारेको छ । थर्काएर गरेको छ । फकाएर गरेको छ । अनेक ढंगबाट गरेको छ । त्यसको प्रभाव हाम्रो समाजमा निकै परेको छ ।’

सभामुख घिमिरेको भनाइप्रति नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियन, संसदीय मामिला पत्रकार समाज, अनलाइन पत्रकार संघलगायत संस्थाहरू र सामाजिक सञ्जालमा समेत चर्को विरोध र आलोचना भएको छ । तर एमाले निकट पत्रकार संगठन र एमाले निकट पत्रकारहरू भने चुइँक्क बोलेका छैनन् । घिमिरेको भनाइको सर्वत्र आलोचना भएपछि उनका प्रेस सल्लाहकार शेखर अधिकारीले दुई लाइनको प्रेस नोट जारी गरेर प्राप्त प्रतिक्रियाप्रति ध्यानाकर्षण भएको र सञ्चार क्षेत्रमा विकृति रहेकोले त्यसलाई सुधार गर्नुपर्ने सन्दर्भमा त्यस्तो धारण व्यक्त भएको भन्दै अन्यथा नलिन भनेर बचाउ गरेका छन् ।

सभामुखजस्तो गरिमामय र तटस्थ संवैधानिक कर्तव्य निर्वाह गर्नुपर्ने पदमा बसेर घिमिरेले तल्लो स्तरको अभिव्यक्ति दिएकामा सरोकारवालाहरूले भने गम्भीर आपत्ति जनाएका छन् ।

संघीय संसद्ले बनाउने सञ्चार क्षेत्रसँग सम्बन्धित कानुनका विषयमा छलफल गर्न र नवनिर्वाचित सभामुखलाई बधाईज्ञापन गर्ने कार्यक्रमसहित सभामुख देवराज घिमिरे र नेपाल पत्रकार महासंघको प्रतिनिधि मण्डलबीच भएको भेटघाटका क्रममा सभामुखबाट नेपाली सञ्चार क्षेत्रका बारेमा व्यक्त भएको अभिव्यक्तिबाट समग्र सञ्चार क्षेत्रको आत्मसम्मानमा गम्भीर चोट पुगेको ठहर नेपाल पत्रकार महासंघले गरेको छ ।

‘सार्वभौम संसद्को मूल नेतृत्वबाटै आफ्नो पदीय हैसियत र मर्यादाविपरित सञ्चार क्षेत्रप्रति आधारहीन र आपत्तिजनक अभिव्यक्ति प्रकट हुनु अत्यन्त दुःखद् छ । महासचिव रोशन पुरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । नेपालको राजनीतिक स्वतन्त्रता, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारको पक्षमा अनवरत संघर्ष गर्दै आएको नेपाली सञ्चार क्षेत्र क्रमशः व्यावसायिकतातर्फ उन्मुख भइरहेको बेला समग्र प्रेस जगत्लाई लाञ्छित गर्ने अभिव्यक्ति आउनुले यस क्षेत्रको विश्वसनीयता र व्यावसायिकतामा आँच आउन सक्नेतर्फ महासंघ गम्भीर चासो र चिन्ता प्रकट गर्दछ ।’ विज्ञप्तिमा भनिएको छ ।

महासंघले जारी गरेको विज्ञप्तिमा अगाडि भनिएको छ ‘सभामुखको अभिव्यक्तिप्रति तत्काल नै महासंघको नेतृत्वले सभामुखको सचिवालयमार्फत ध्यानाकर्षण गराएको र सभामुखबाटै उक्त आधारहीन अभिव्यक्ति फिर्ताका लागि आग्रह गरेको थियो । तर, सचिवालयबाट सामान्य प्रष्टीकरणबाहेक उहाँको आधिकारिक धारणा आउन सकेन । महासंघ जननिर्वाचित संसद् र त्यसको नेतृत्व नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा पूर्ण प्रतिबद्ध भएको व्यवहारमा देख्न चाहन्छ । साथै आफ्ना आरोपहरू पुष्टि गर्न वा आधारहीन आरोप फिर्ता लिई सञ्चार क्षेत्रको संवैधानिक अधिकार र स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्धता जनाउन सभामुख समक्ष महासंघ आग्रह गर्दछ । सभामुखबाट आएको आधारहीन अभिव्यक्ति तत्काल फिर्ता नभएमा महासंघ कानुनीलगायतका अन्य दबाबमूलक कार्यक्रम अगाडि बढाउन बाध्य हुने जानकारी गराइन्छ ।’ ।

यसैगरी नेपाल प्रेस युनियनले सभामुखको विचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ‘अस्वस्थ प्रतिस्पर्धामा रहेका केही राजनीतिक दलका प्रमुखहरूले आफू अनुकूल समाचार नआउँदा पत्रकारिता क्षेत्रलाई नै बदनाम गर्ने गरी अभिव्यक्ति दिँदै आएका छन् । तटस्थ, निष्पक्ष, स्वतन्त्र भूमिका निर्वाह गर्नुपर्ने गरिमामय पदमा आसीन सभामुखबाट पत्रकारलाई नै साक्षी राखेर दिएको नेपालको स्वतन्त्र प्रेसविरुद्ध दिएको अभिव्यक्ति अपरिपक्व, अशोभनीय हो ।’ युनियनका महासचिव दिलीप पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘पत्रकारले नेपालको राजनीतिक परिवर्तन, लोकतन्त्र, गणतन्त्र, राजनीतिक तथा नागरिक अधिकारको पक्षमा खेलेको भूमिकालाई समेत स्मरण गराउन चाहान्छौं । पत्रकारले भ्रष्टाचार, अनियमितता, बेथितिका घटना बाहिर ल्याएर सुशासन र नागरिक अधिकारको पक्षमा निरन्तर काम गर्दै आएका छन् । सञ्चार क्षेत्रलाई व्यवस्थित, मर्यादित र व्यावसायिक बनाउन सञ्चारसँग सम्बन्धित कानुन बनाउन सहजीकरण गर्नुपर्ने सभामुखले समग्र पत्रकारिता क्षेत्रलाई आक्षेप लगाउनु दुःखद् हो । ’ विज्ञप्तिमा भनिएको छ ।

‘नेपालको राजनीतिक, सामाजिक, प्रशासनिकलगायतका क्षेत्रमा जस्तै पत्रकारिता क्षेत्रमा कमजोरी नभएका होइनन् । पत्रकारितामा देखिएका कमी, कमजोरीलाई कानुन बनाएर विधि र पद्धतिबाटै सुधार गर्दै लैजानुपर्छ भन्ने युनियनको मान्यता छ । तर, सभामुखबाट समग्र पत्रकारिता क्षेत्रलाई बदनाम गर्ने गरी अभिव्यक्त विचार निन्दनीय छ । यस्ता अपरिपक्व र गैरजिम्मेवार अभिव्यक्ति नदिन नेपाल प्रेस युनियन हार्दिक आग्रह गर्दछ ।’ युनियनको विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमार्फत अपरिपक्व, गैरजिम्मेवार, अराजनीतिक अभिव्यक्ति नदिन, जवाफदेही रूपमा आफ्ना विचार राख्न, पत्रकारिता पेसालाई सम्मान गर्न नेपाल प्रेस युनियन सम्बन्धित पक्षसँग आग्रह गरिएको छ ।