काठमाडौं । आफ्नै कारण गठबन्धन जोगाउन नसकेपछि संघीय सरकारदेखि प्रदेश सरकारसम्म सत्ताबाट बाहिरिँदै गएको एमाले यसपाली राष्ट्रपति र उपराष्ट्रपति पदबाट पनि वञ्चित भएको छ । अघिल्ला दुई कार्यकाल पार्टी उपाध्यक्ष विद्यादेवी भण्डारीलाई लगातार राष्ट्रपति बनाउन सफल भए पनि ओलीको अहंकार घमण्डका कारण अहिले दुवै मुख्य पदबाट बाहिरिएको छ भने अहिले पनि विभिन्न बहानाबाजी गर्दै संविधान र संसद् नै असफल पार्ने खेलमा लागेको नेकपा एमाले पछिल्लो राष्ट्रपति र उपराष्ट्रपतिको चुनावमा भोगेको पराजयलाई उसको पतनको बाटोको रूपमा पनि अर्थ लगाउन थालिएको छ ।
राष्ट्रपतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित एक सातापछि एमाले उम्मेदवार अष्टलक्ष्मी शाक्यलाई झन्डै दोब्बर मतभार अन्तरले पराजित गर्दै गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीका नेता रामसहायप्रसाद यादव निर्वाचित भएका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका दलहरूको समर्थनमा यादव उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् । शुक्रबार संसद्मा भएको निर्वाचनमा यादवले ३० हजार ३ सय २८ मतभार प्राप्त गरे । उनले संघीय संसद्तर्फ १४ हजार ५ सय ३६ र प्रदेशसभातर्फ १५ हजार ७ सय ९२ मतभार पाएका छन् ।
राष्ट्रपतिमा जस्तै उपराष्ट्रपतिमा पनि प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सांसदले मत दिएका हुन् । प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभा गरी कुल मतभार ५२ हजार ६ सय २८ रहेको छ । यादवले त्यसको बहुमत अर्थात् २६ हजार ३ सय १४ मतभारभन्दा बढी मत ल्याई निर्वाचित भएका हुन् । निकटतम प्रतिस्पर्धी एमाले उम्मेदवार अष्टलक्ष्मी शाक्यले प्रदेशतर्फ ८ हजार ११२ र संघीय संसद्तर्फ ८ हजार २ सय १६ गरी कुल १६ हजार ३ सय २८ मत प्राप्त गरिन् । जनमतबाट उपराष्ट्रपतिका उम्मेदवार ममता झाले प्रदेशतर्फ ७ सय २० र संघतर्फ १ हजार ८ सय १७ गरी २ हजार ५ सय ३७ मतभार पाइन् । उम्मेदवारी निष्क्रिय पारेको घोषणा गरेकी जसपाबाट उपराष्ट्रपतिकी अर्की उम्मेदवार प्रमिला कुमारीले प्रदेशतर्फ ४८ मतभार अर्थात् १ सांसदको मत पाएकी छन् । सत्ता गठबन्धनको आधिकारिक उम्मेदवार रामसहायप्रसाद यादव बनेकाले प्रमिलाले आफ्नो उम्मेदवारी निष्क्रिय भएको घोषणा गरेकी थिइन् ।
बारा–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रामसहाय जसपाका संसदीय दलका नेतासमेत हुन् । शिक्षण पेसा छोडी राजनीतिमा लागेका उनी छोटो समयमै मुलुकको दोस्रो मुख्य पदमा निर्वाचित भएका हुन् । उपराष्ट्रपति निर्वाचित भएसँगै उनको प्रतिनिधिसभा सदस्य पद भने गएको छ । उनी निर्वाचित बारा २ मा अब उपनिर्वाचन हुनेछ ।
प्रतिक्रिया