काठमाडौं– सभामुख देवराज घिमिरेले ‘पत्रकार बिक्रीमा छन्’ भनेर दिएको अभिव्यक्तिलाई लिएर प्रतिनिधिसभा बैठकमा प्रश्न उठेको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा र नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सभामुखले केही दिनअगाडि दिएको उक्त अभिव्यक्तिमाथि प्रश्न उठाएका हुन् ।
सांसद खतिवडाले सभामुख नै आफ्ना अभिव्यक्तिका कारण चर्चामा रहेको र त्यो अभिव्यक्तिले प्रेस स्वतन्त्रतामा कस्तो प्रभाव पर्छ भन्ने विषयमा सोच्नुपर्ने बताए । ‘सम्माननीय सभामुख पत्रकार बिक्रीमा छन् भन्ने अभिव्यक्ति दिएर चर्चामा हुनुहुन्छ । व्यवस्थापिकाको प्रमुखले नै यस्तो अभिव्यक्ति दिँदा प्रेस स्वतन्त्रतामाथि परेको आघातको बारेमा सोचिएको छ कि छैन ? त्यतातिर पनि ध्यान जाओस्,’ उनले भने ।
अर्का सांसद सुवालले सभामुखले बोलेको विषय सार्वजनिक महत्वको विषय भएकाले छानबिन समिति गठन गर्नुपर्ने बताए ।‘पत्रकारहरुकोबारे अध्ययन गरेर भन्नुभएको भए छानबिन समिति बनाउनु पर्यो । कुन-कुन हो पित पत्रककारिता गर्ने ?’ उनले भने, ‘यो सार्वजनिक महत्वको विषय हुन्छ सभामुखबाट उठेको विषय ।’
गत चैत ३ गते नेपाल पत्रकार महासंघका प्रतिनिधिहरूसँगको भेटमा सभामुख घिमिरेले पत्रकारहरू बिक्रीमा रहेको भनी गम्भीर आरोप लगाएका थिए ।
प्रतिक्रिया