काठमाडौं । आउँदो वैशाखमा नेपालसहित १० राष्ट्रबीच एसिसी प्रिमियर कप नेपालमा हुने भएको छ ।
एसियन क्रिकेट काउन्सिल (एसिसी) ले नेपाललाई आयोजनाको जिम्मा दिएपछि नेपाल क्रिकेट संघ (क्यान) प्रतियोगिताको तयारीमा जुटेको छ ।
पछिल्लो समय कीर्तिपुरस्थित त्रिवि मैदानमा आइसिसी विश्वकप–२ को दुई त्रिकोणात्मक सिरिज आयोजना गरेको नेपालले यसपटक भने दुई मैदानमा एकदिवसीय फर्म्याटमा खेलाइने प्रिमियर कप आयोजना गर्दैछ ।
त्रिवि मैदानसँगै माथिल्लो मूलपानी मैदानमा प्रतियोगिता सञ्चालन गर्न तयारी गरिरहेको क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले जानकारी दिनुभएको छ । प्रतियोगिता वैशाख ११ मा सुरू भएर वैशाख २५ मा सकिनेछ। प्रतियोगितामा नेपालसहित १० राष्ट्रबीच प्रतिस्पर्धा हुँदैछ ।
समूह ‘ए’ मा नेपलासहित कुवेत, कतार, साउदी अरेबिया र युएई छन् । समूह ‘बी’ मा बहराइन, हङकङ, मलेसिया, ओमान र सिंगापुर छन् । प्रतियोगितामा समूह चरण, सेमिफाइनल र फाइनल गरी २४ खेल हुनेछन् । साउदी अरेबिया र बहराइन एसिसी च्यालेन्ज कपको विजेता र उपविजेताको रुपमा प्रिमियर लिगमा छनोट भएका थिए ।
प्रतियोगिताको विजेता टिम आगामी सेप्टेम्बरमा हुने एसिया कपका लागि छनोट हुनेछ। एसिया कप पाकिस्तानमा हुने बताइए पनि भारतले पाकिस्तानमा गएर नखेल्ने भनेकाले कुन स्थानमा हुने अझै टुंगो छैन ।
एसिया कपमा एसियाका ५ टेस्ट राष्ट्र र एसिसी प्रिमियर कपको विजेताबीच प्रतिस्पर्धा हुनेछ। एसिया कपको समूह ‘ए’ मा भारत, पाकिस्तान र प्रिमियर कप विजेता तथा समूह ‘बी’ मा अफगानिस्तान, बंगलादेश र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतिक्रिया