देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित

देशान्तर

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)का नेता रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएका छन् ।

शुक्रबार भएको उपराष्ट्रपतिको निर्वाचनमा यादवले बहुमत प्राप्त गरेका हुन् । नेकपा (एमाले) उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी नेता ममता झालाई पराजित गर्दै यादव उपराष्ट्रपति निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उपराष्ट्रपतिमा जसपा सांसद पर्मिला कुमारीले पनि उम्मेदवारी दिएकी थिइन् । निर्वाचनअघि नै उनले उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दै यादवलाई सघाएकी थिइन् ।

उपराष्ट्रपतिमा निर्वाचित यादवले ३० हजार ३२८ मतभार प्राप्त गरेका छन् । उनले संघीय संसद्‌तर्फ १४ हजार ५३६ र प्रदेश सभातर्फ १५ हजार ७९२ मतभार प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उपराष्ट्रपतिमा प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभाका सांसदले मतदान गरेका हुन् । उनीहरूको कुल मतभार ५२ हजार ६२८ छ । कुल मतभारतको बहुमत अर्थात २६ हजार ३१४ मतभारभन्दा बढी मतभार प्राप्त गरेर यादव उपराष्ट्रपतिमा निर्वाचित भएका छन् ।

यादवलाई नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत गठबन्धनमा रहेका दलहरूले समर्थन गरेका थिए ।

उनी गत मंसीर ४ गते भएको प्रतिनिधि सभाको निर्वाचनमा बारा-२ बाट निर्वाचित भएको थिए । प्रतिनिधि सभामा जसपा संसदीय दलको नेता पनि छन् ।