काठमाण्डौँ । कैलालीको घोडाघाडी नगरपालीका–४, रामपुरस्थित श्री राष्ट्रिय माध्यमिक विद्यालयमा अकस्मात् छात्रा बेहोस भएर ढल्न थालेपछि विद्यालय नै बन्द गर्नुपर्ने अवस्था आएको छ ।
करिब ५ महिनादेखि छात्राहरुमा यस्तो समस्या देखापरेको विद्यालयले जनाएको छ । स्थानीयका अनुसार विशेषगरी छात्राहरु विद्यालय पुग्नसाथ बेहोस भएर ढल्ने गरेका छन् । जसका कारण पठनपाठन नै बन्द हुने अवस्थामा पुगेको प्रध्यानध्यापक नवल बहादुर रावतले बताए ।
दैनिक जसो ७ | ८ छात्राहरु बेहोस हुने गरेको उनले जानकारी दिए । तर विद्यार्थी के कारणले बेहोस भएका हुन् भन्ने खुल्न सकेको छैन । विद्यार्थीहरु दिनानुदिन बेहोस हुने र ढल्ने समस्या बढ्दै गएपछि अभिभावकहरु पनि चिन्तामा परेका छन् ।
१३ देखि १७ वर्षसम्मका छात्रामा बेहोस हुने समस्या देखिएको छ । कोही विद्यालय प्राङ्गणमा त कोही कक्षा कोठाभित्रै बेहोस हुने गरेका प्रधानध्यापक रावतले बताए ।
उनीहरु विद्यालयमा प्रवेश गर्नासाथ एक्कासी कराउने, रुने अनि ढल्ने गरेको प्रत्यक्षदर्शीले बताएका छन् । विद्यालयमा पठनपाठन गर्न समस्या भएपछि मंगलबार र बुधवार दुई दिन विद्यालय बन्द गरिने बताइएको छ ।
प्रतिक्रिया