काठमाडौं -नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई भारत र अमेरिकाले बधाई सन्देश पठाएका छन् । राष्ट्रपति पौडेललले शपथ लिएर कार्यभार सम्हालेपछि भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले बधाई सन्देश पठाएकी हुन् ।
मुर्मूले भारतीय जनता, भारतीय सरकार र आफ्नो व्यक्तिगततर्फबाट पनि शुभकामना दिएको सन्देशमा उल्लेख गरेकी छिन् ।उनले भारत र नेपालबीच छिमेकी देशका हैसियतले निकै लामो समयदेखि सौहार्दपूर्ण सम्बन्ध रही आएको र दुई देशका नागरिकबीच जनसम्पर्क महत्वपूर्ण रहेको उल्लेख गरेकी छिन्।
सो पत्रमा भारतीय राष्ट्रपति मुर्मुले भारत र नेपालबीचको निकै पुरानो सम्बन्धमा पछिल्ला केही वर्ष यता उल्लेखनीय प्रगति हुँदै गएको र यसका माध्यमबाट दुवै देशका नागरिकले पारस्पारिक लाभ लिन सकेका उल्लेख गरेकी छिन् ।
राष्ट्रपति पौडेलको कार्यकालमा उनको नेतृत्वमा भारत र नेपालबीच बहुपक्षीय र बृहत्तर सम्बन्ध थप सुदृढ बन्ने कुरामा आफू विश्वस्त रहेको पनि राष्ट्रपति मुर्मुको सो बधाई सन्देशमा उल्लेख छ । द्विपक्षीय सम्बन्ध र साझेदारीका क्षेत्रमा आगामी दिनमा नजिक रहेर काम गर्न आफू इच्छुक रहेको उनले बताइन् ।
यस्तै, नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई संयुक्त राज्य अमेरिकाले बधाई ज्ञापन गरेको छ । पौडेलले नयाँ राष्ट्रपतिका रुपमा जिम्मेवारी सम्हाल्नु भएलगत्तै अमेरिकाका तर्फबाट काठमाडौँस्थित अमेरिकी राजदूतावासले आज उनलाई बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेको हो ।
प्रतिक्रिया