काठमाडौं– नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विद्युतीय सवारीसाधन प्रयोग गर्न सबैलाई आह्वान गरेका छन् । सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै प्रबन्ध निर्देशक घिसिङले विद्युतिय सवारी साधन प्रयोग गर्न सबैलाई आह्वान गरेका हुन् ।
उनले विद्युतमा गरिएको लगानी सँगसँगै विद्युत खपत पनि बढाउने कार्ययोजना रहेकाले सोहीअनुरुप विद्युतीय सवारीसाधनहरु आइरहेका बताए । उनले पेट्रोल तथा डिजेलबाट चल्ने सवारीसाधनहरुभन्दा विद्युतबाट चल्ने सवारीसाधन कयौँ गुणा सस्तो पर्ने दाबी गरे ।
त्यस्तै, विद्युतिय सवारीसाधनको प्रयोगले प्रदूषण पनि घट्ने भन्दै उनले विद्युतीय सवारीसाधन प्रयोग गर्नुको फाइदा मात्रै भएको बताए ।
वातावरणीय र स्वास्थ्य सुरक्षाको दृष्टिले विद्युतीय सवारीसाधन नै उपयुक्त भएको उनको भनाइ छ । उनले भने, ‘विद्युतीय सवारीसाधन चल्दाखेरी त्यो प्रदूषण पनि हट्छ । वातावरणको हिसाबले, स्वास्थ्य सुरक्षाको हिसाबले उपयुक्त सवारीसाधन भनेको विद्युतीय सवारीसाधन नै हो । यसले नेपाललाई क्लिन इनर्जी, कार्बन न्यूट्रलतिर लानलाई ठूलो सहयोग गर्नेछ । आगामी दिनमा सबैले विद्युतिय सवारीसाधन प्रयोग गरौँ।’
प्रतिक्रिया