देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संसदमा महिलाको भूमिकाको मूल्यांकन भएनः मन्त्री शर्मा

देशान्तर

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संसदमा महिलाहरुको भूमिकाबारे उल्लेखनीय चर्चा हुन नसकेको गुनासो गरेकी छन् । सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसदमा महिलाहरूले निभाएको भूमिकाको चर्चा हुन नसकेको बताएकी हुन् ।

उनले अवसर पाएका महिलाहरूलाई असफल हुने छुट नभएको बताइन् । सञ्चारमन्त्री शर्माले भनिन्, ‘नीति निर्माण गर्ने ठाउँमा हामी पुगेका छौँ। कति सफल भएका हौँला, कति असफल भएका हौँला। अवसर पाएका पुरुषहरू सबै सफल हुँदैनन्, अवसर पाएका महिलाहरू पनि सबै सफल हुँदैनन् । तर समस्या के छ भने महिला सफल नहुँदा त्यो कम्युनिटी असफल हुन्छ, पुरुष असफल हुँदा व्यक्ति मात्रै हुन्छ । यहाँनेर समस्या छ । जतिसुकै कष्ट गरेर भए पनि हामी अवसर पाएका महिलाहरू उत्तीर्ण हुनैपर्छ । संसदभित्र हेर्‍यौँ भने हामी कानुन बनाउँदै गर्दा सबैभन्दा धेरै कानुन बनाउँदा संशोधन महिलाले नै हाल्छन्,संसदमा कोरम पुर्‍याउन सबैभन्दा ठूलो संख्या महिलाको नै हुन्छ । तर पनि बाहिर आउँदा मूल्यांकन हुँदैन, चर्चासम्म पनि हुँदैन ।’

उनले संसदको बैठक आयोजना र व्यवस्थापन गर्ने कुरामा पनि महिलाहरूको बढी सहभागिता रहेकाले सञ्चारमाध्यमहरूले महिलाको मूल्यांकन गरी खोजमूलक पत्रकारिता गर्नुपर्ने पनि बताइन् ।