काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टी तत्काल सरकारमा जाने तयारीमा नरहेको बताएका छन् ।
सोमबार चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले अहिलेको परिस्थितिको मूल्यांकन गर्ने काम भइरहेको बताए । उनले भने, “सरकारमा जाने तयारी भन्ने होइन । परिस्थितिलाई मूल्यांकन गर्नुपर्ने हुन्छ ।”
उनले सत्तासमीकरण परिवर्तन भएपछि सरकारमा जानु परेमा कारण स्पष्ट पारेर मात्र सहभागी हुने बताए । उनले थपे, “अहिले सरकारमा जाने÷नजाने भन्ने विषयमा पार्टीभित्र छलफल भएको छैन ।”
रास्वपा छुट्टै परिचय बोकेर बनेको दल भएकाले पछिल्ला राजनीतिक घटनाक्रम नियाल्दै गरेको उनले बताए । आफ्नो दलको राजनीतिक अभ्यास सुरुआती चरणमा रहेको सभापति लामिछानेले उल्लेख गरे ।
सरकारलाई दिएको समर्थन फिर्ता नलिएको अवस्थामा अब के गर्ने भन्ने विषयमा पार्टीभित्र छलफल हुने उनको भनाइ छ ।
आउँदो वैशाख १० गते हुने चितवन क्षेत्र नम्बर–२ को उपनिर्वाचनको तयारी सुरु गरेको उनले जानकारी दिए ।
प्रतिक्रिया