काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसको सबै जिम्मेवारीबाट राजीनामा दिएका छन् । बिहीबार राष्ट्रपतिमा निर्वाचित भएका पौडेलले आइतबार कांग्रेसको सबै पदबाट राजीनामा दिएका हुन् ।
पौडेलले स्वकीय सचिव चिरञ्जीवी अधिकारीमार्फत केन्द्रीय कार्यालयमा पत्र दर्ता गराएको नेपाली कांग्रेसका कार्यालय सचिव प्रकाश शर्माले जानकारी दिएका छन् ।
विद्यार्थी राजनीति हुँदै पार्टीको राजनीतिमा होमिएका पौडेल कांग्रेसको कार्यवाहक सभापति समेत भएका थिए र अहिले उनी वरिष्ठ नेता थिए ।
राष्ट्रपति निर्वाचित उनले सोमबार १ बजे पद तथा गोपनियताको शपथ लिने छन् र त्यस लगत्तै जिम्मेवारी सम्हाल्ने छन् ।
यसैबीच, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलको राजीनामा स्वीकृत गरेका छन् । वरिष्ठ नेता पौडेल फागुन २५ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपतिमा निर्वाचित भएपछि कांग्रेस पार्टीको पद, जिम्मेवारी र साधारण सदस्यबाट अलग भएको राजीनामा आज स्वीकृत गरेका हुन् ।
प्रतिक्रिया