देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आय विवरण दाखिला गर्ने करदाता घटे, राजस्व विभाग कारण खोज्दै

देशान्तर


काठमाडौं – अघिल्लो आर्थिक वर्षको तुलनामा गतवर्षको आय विवरण दाखिला गर्ने करदाता ठूलो सङ्ख्यामा घटेको देखिएपछि आन्तरिक राजस्व विभागले खोजबिन सुरु गरेको छ ।

यस्तो विवरण बुझाइसक्न पुस मसान्तसम्मको म्याद थपिएकोमा सो अवधिसम्म पनि केही करदाताले विवरण नबुझाएपछि विभागले छानबिन थालेको हो ।

कतिपय करदाताले आफ्नो कारोबारको मूल्य अभिवृद्धि कर (भ्याट) को विवरण दाखिला गरेको, भन्सार तथ्याङ्क हेर्दा आयात–निर्यात गरेको पाइएको र त्यस्ता करदाताको नाममा अग्रीम कर कट्टीसमेत भएको देखिए पनि आयकरको विवरण भने नबुझाएको विभागले जनाएको छ ।

यसरी गत आर्थिक वर्ष २०७८÷७९ मा कर लाग्ने कारोबार गरेको देखिए पनि हालसम्म आय विवरण र कर दाखिला नभएपछि त्यस्ता करदाताको विवरण सङ्कलनको काम भइरहेको विभागका सूचना अधिकारी राजुप्रसाद प्याकुरेलले जानकारी दिनुभयो ।
कुन कर कार्यालयमा कति करदाताले यस्तो विवरण बुझाउन बाँकी छ भन्ने तथ्याङ्क संकलन भइरकेको पनि उहाँले जानकारी दिनुभयो । प्रत्येक आर्थिक वर्षको आय विवरण असोज मसान्तसम्म कर कार्यालयमा दाखिला गरिसक्नुपर्छ ।
आयकर विवरण र कर दाखिला नगर्ने करदाताको वास्तविक संख्या भने अझै आइनसकेको विभागले जनाएको छ ।

त्यस्तै, आय विवरण र कर दायित्व फरकफारक नगर्ने करदाताको छानबिन तथा अनुसन्धान गरी प्रचलित कानून बमोजिम कारबाही गर्ने पनि विभागले जनाएको छ ।रासस