नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामाले नेविसंघ केन्द्रीय अध्यक्ष दुजाङ शेर्पालाई बर्खास्त गर्न माग गर्नु भएको छ । कांग्रेस दोलखाले नेविसंघ जिल्ला अध्यक्षका लागि सहमतिमा सौगात थापाको नाम पठाइए पनि नेविसंघ केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले दोलखामा कुनै साधारण सदस्यसमेत नरहेको व्यक्तिलाई नेविसंघ जिल्ला अध्यक्ष तोकेको भन्दै सभापति लामाले राजीनामा माग गर्नु भएको हो ।
गत पुस १४ गते नेविसंघ केन्द्रीय समितिले कांग्रेस दोलखालाई पत्र पठाएर जिल्ला सभापतिको नाम पठाउन भनेको थियो । जसअनुसार माघ १० गते सौगातको नाम पठाइएको लामा वताउनु भयो । पार्टीको जिल्ला तहले गरेको सर्वसम्मत निर्णय र सिफारिस लत्याई नेविसंघ अध्यक्ष शेर्पाले व्यक्तिगत स्वार्थ र काठमाडौंतिरको निकटताको आधारमा जिल्ला अध्यक्ष तोक्ने र प्रत्येक जिल्लामा विवाद सिर्जना गर्ने गरेको भन्दै दोलखा पार्टि सभापति वर्मा लामाले पार्टि सभापति शेरबहादुर देउवालाई पत्र लेख्नु भएको छ । साथै सभापति बर्माले जिल्ला कार्यसमितिले निर्णय गरेअनुसार नेविसंघ जिल्ला सभापति तोक्नसमेत माग गर्नु भएको छ ।
नेविसंघ अहिले केन्द्रीय समिति बिहीन छ ।पार्टिले अध्यक्षमा शेर्पालाई नियुक्ति गरेपनि नेविसंघ केन्द्रीय समितिले पूर्णता पाउन सकेको छैन् । अहिले स्ववियु चुनाव आएको भन्दै जिल्ला अध्यक्षलगायत विभिन्न पदमा मनोनीत गर्न थालेपछि नेविसंघमा विवाद बढदै गएको छ ।
प्रतिक्रिया