देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पौडेलबाट राष्ट्रले राखेको अपेक्षा

देशान्तर


माथवरसिंह बस्नेत

राष्ट्रको अभिभावकत्व ग्रहण गर्ने तहमा परिपक्व नेतृत्व पुग्नु भनेकै देश अस्थिरताबाट स्थिरतातर्फ अघि बढ्न लागेको सुखद् संकेतको द्योतक हो । नेपाली कांग्रेसले राष्ट्रपति पदमा आफ्ना वरिष्ठ नेता रामचन्द्र पौडेललाई उमेदवार बनाएपछि त्यो संभावनाको ढोका खुलेको हो ।

कांग्रेसको त्यो अग्रसरतालाई संसदमा प्रतिनिधित्व गर्ने अरु सात दलका नेताले समेत आ–आफनो दलका तर्फबाट मतदान गर्ने प्रतिवद्धता व्यक्त गरेकाले उनको विजय शंकारहित रुपमा निश्चित हुन पुगेको हो ।


केही वर्षयता कांग्रेसका धेरै निर्णय अपरिपक्व र बिबादित भएका कारण नेतृत्वले समाजका सबै क्षेत्रबाट आलोचना व्यहोर्नु परेको यथार्थ कसैबाट छिपेको छैन । राष्ट्रपतिमा पौडेलको नामको मनोनयले विगतका सबै प्रकारका कमिकमजोरीको क्षतिपूर्ति मात्र होइन, आगतलाई अझ उज्यालो र सशक्त तुल्याउने अभुतपूर्व जोश र उत्साह कांग्रेसभित्र पैदा गरेको छ । त्यसले नेतृत्व र कार्यकर्तापंक्ति दुवैथरिमा नयाँ उर्जा संचारित पनि गर्न पुगेको छ । त्यसलाई शेरबहादुर देउवाको म्याजिक तथा रामचन्द्र पौडेलको रिवार्डको नितान्त स्वभाविक परिणाम मानिएको छ ।


त्यसो त बीपी कोइरालाको जीवनकालमै कांग्रेसमा शैलजा आचार्य, रामचन्द्र पौडेल र शेरबहादुर देउवाले भविष्यको नेतृत्वको सोपान चढ्न थालेका थिए– उहाँको प्रेरणा र प्रोत्साहनले । कालान्तरमा लौहपुरुष गणेशमान सिंह र संतनेता कृष्णप्रसाद भट्टराईले पनि त्यो क्रमलाई अघि बढाएर उनीहरुलाई नेतृत्वको शिखरमा चढाएको तथ्य, इतिहासमा रेकर्ड भएको वास्तविकता हो । शैलजा आचार्यको असामयिक निधनले त्रिपक्षीय प्रतिस्पर्धालाई दुईमा झारेको हो ।


कांग्रेस नेतृत्वको शीर्ष तहमा भएका उतारचढाव तथा उठापटकमा देउवा र पौडेलको सहयात्रा सरल र सहज थिएन । उनीहरुका बीचमा एकअर्कालाई गिराएर आफू माथि उक्लने होड पनि चलेकै हो । सैद्धान्तिक बहस र वाक््युद्धका देउवालाई पौडेलले उछिने पनि संगठन निर्माण र कार्यकर्ता परिचालनका मामलामा पौडेल, देउवाभन्दा पछाडि परेकै हुन । तैपनि उनीहरुमा एकअर्काका प्रतिको आदर र सम्मानमा कहिलै कमिआएन ।


यो तीन वर्ष अगाडिको कुरा हो । काठमाडौंमा भएको कांग्रेसको महासमितिको बैठकमा सभापति देउवाको कार्यशैलीको ठूलो आलोचना भएको थियो । त्यसमा संस्थापन पक्षबाट प्रस्तुत भएका योजना र कार्यक्रम पनि पारित हुन सकेका थिएनन् । दुई दिन समय थप गरेर बल्लतल्ल बैठक समापन अघि पार्टी एकताको टालटुले सन्देश सम्प्रेषित गरिएको थियो ।


त्यही सन्देश दिन आयोजित बुद्धिजीवीहरको सम्मेलनमा प्रख्यात पत्रकार किशोर नेपालले सभापति शेरबहादुर देउवासंग एउटै सोफामा बसेका रामचन्द्र पौडेलतर्m औल्याउँदै सोधेका थिए– तपाईहरुले पहिले एक अर्कालाई नाङ्गेझार तुल्याउनु भयो, पछि एकता भयो पनि भन्नुभयो । झगडाको के थियो र के आधारमा अहिले मिल्नु भएको हो ?


देउवाले हाँसेर भनेका थिए– तपाईको प्रश्नको उत्तर मैलेभन्दा राम्ररी पौडेलजीले दिनुहुन्छ ।


त्यसपछि पौडलले बडो सहज ढंगले भने– हामीले सभापति देउवालाई घेरा हालेकै हो, सुधार्नलाई । कांग्रेसले अहिले जुन कार्यशैली अपनाको छ, त्यसले पार्टी र प्रजातन्त्रमाथि आएको संकटको सामना गर्न सक्तैन । त्यसका लागि पार्टीलाई चुस्त दुरुस्त तुल्याउन जरुरी छ । त्यो अहिले भइरहेको छैन भनेर साथीहरुले आक्रोश पोखेका हुन् । त्यसमा मैले साथीहरुलाई साथ दिएको हुँ । म संगठन गतिमान तथा प्रभावकारी बनोस् भन्ने चाहन्छु र त्यसैका लागि प्रयत्नशील पनि छु । मैले साथीहरुलाई उत्साही तुल्याउन दिएको अभिव्यक्ति, सभापतिज्यूलाई निकै आक्रमक लागेछ ।

त्यसैले उहाँ एक दिन सबेरै मेरो घरमा आउनु भयो र भन्नुभयो– हामीले प्रजातन्त्र पुनस्र्थापनाको आन्दोलनका क्रममा कति दिन भोकै बस्नुपर्‍यो, सिरक र डसनाको अभावमा कति रात अनिदो बितायौं । दिउँसो पुलिसबाट भाग्ने र राति डेराको भाडा तिर्न नसकेका कारण घरपेटीबाट भाग्दै साथीका डेरामा शरणार्थी हुनु पुगेका पीडा कसरी बिर्सेको ? तिनै साथीले आधा पेट खाएर हामीलाई ज्युँदै राख्न गर्नु परेको संघर्ष भूलेर भूल्न सकिन्छ ? त्यत्रो संघर्ष गरेर ल्याएको प्रजातन्त्रलाई आज हामी आफैं आपस्तमा लडेर असफल तुल्याइरहेका छौं । त्यसका निम्ति इतिहासले हामीलाई क्षमा गर्छ ?

म भावुक छु । त्यो सुनेपछि मेरासामु संघर्षका पुराना दिनहरु, जेलका यातना, भोकले जन्माएका रोग, सबै सिनेमाका रिल रिवाइन्ड भएजस्तै घुम्न थाले, अनि मेरा आँखा रसाए । मैले देउवाका हात समातेर तत्क्षण अठोट गरें, म सघाउँछु । प्रजातन्त्रको स्थिरताका निम्ति सभापति देउवालाई सहयोग गर्ने त्यो मेरो संकल्प थियो ।

त्यही हाम्रो मेलमिलाप र एकताको आधार हो । त्यसपछि रामचन्द्र पौडेलले देउवाका कमजोरीको आलोचना गर्न पनि नछाड्ने र अप्ठेरो पर्दा काँध थाप्न पनि नछाड्ने नीति अपनाएका हुन् । यथार्थमा त्यही उनको परिपक्वताको निख्खर उदाहरण हो । उनको त्यो समृद्ध अनुभव अब राष्ट्रको सेवामा समर्पित हुने भएको छ । देउवा र पौडेलको जोडीले कांग्रेसलाई मात्र एकताको सूत्रमा जोडेका होइनन्, राष्ट्रिय राजनीतिलाई समेत अस्थिरताबाट स्थिरतातिर मोड्न ठोस योगदान पु¥याएका छन् । त्यो वास्तविकता सुस्तरी प्रकट हुँदैजानेछ ।