राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले दक्षिण कोरियामा सिधा उडान गर्ने भएको छ । दक्षिण कोरियाको राजधानी सिओलस्थित इन्चोन इन्टरनेसनल एयरपोर्टमा उडान गर्नका लागि प्रक्रिया अगाडी बढाइएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभयो ।
उक्त प्रयोजनका लागि निगमका नायब महाप्रबन्धक इन्जिनियर विक्रम केसीको संयोजकत्वमा १० सदस्यीय सेफ्टी अडिट उपसमिति गठन गरिएको निगमले जनाएको छ । समितिले दक्षिण कोरियामा सिधा उडान सञ्चाल गर्न सेफ्टी अडिटको काम गर्ने छ ।
यसैविच नेपाल वायुसेवा निगमको इतिहासमै पहिलोपटक दुई महिला पाइलटले अन्तर्राष्ट्रिय उडान गरेका छन् । पाइलट भावना पन्त र को–पाइलट सिर्जना रावतले काठमाडौंबाट न्यारोबडी एयरबस ३२० उडाएर दुबईमा सफल अवतरण गर्नु भएको हो ।
यहि पाइलट जोडीले अर्को उडान दुबईबाट काठमाडौंका लागि पनि गर्दै छन् । महिला चालक दलले अन्तर्राष्ट्रिय उडानको कमान्ड सम्हाल्नु नेपालका लागि ऐतिहासिक भएको निगमकी प्रवक्ता अर्चना खड्काले वताउनु भयो । निगमले अन्तर्राष्ट्रिय महिला दिवसको दिन ८ मार्चमा सबै क्रु मेम्बर महिला नै राखेर अर्को उडान गर्ने तयारीसमेत गरेको छ ।
प्रतिक्रिया