काठमाडौं– ठगीको आरोपमा जेल चलान भएका पृथ्वीबहादुर शाह र उनको समूहमा रहेका १९ जना व्यक्तिविरुद्ध चार वटा मुद्दा चलाउनुपर्ने भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईवी)ले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी शाह, उनका भाई विजयविक्रम शाहसहितका समूहलाई व्यक्तिविरुद्ध ठगी, लिखतसम्बन्धी कसुर, सहकारी ठगी र संगठित अपराधविरुद्ध मुद्दा चलाउनुपर्ने अनुसन्धानबाट खुल्न आएको जानकारी गराएको हो ।
अमेरिकी नागरिकहरु ठगिएको उजुरी नेपालस्थित अमेरिकी राजदुतावासले नै जानकारी गराएपछि पृथ्वीबहादुर शाहसहितका सातजनालाई पक्राउ गरी अनुसन्धान गरिएको थियो ।
अनुसन्धानमा उनीहरुले ठगीबाट आर्जन गरेको सम्पत्ति घर, जग्गालगायतको कारोबारमा लगानी गरेको पनि खुल्न आएको सीआईवीका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले बताए ।
सो घटनामा संलग्न पृथ्वीसहित सातजना पक्राउ परेका छन् भने अन्य १३ जना फरार रहेका छन् । घटनामा संलग्न सबैलाई पीडितलाई क्षतिपूर्ति दिलाई सात वर्ष कैद र ७० हजार जरिवाना हुने कानुनी व्यवस्था गरेको पनि प्रवक्ता थापाले बताए । उनीहरुमाथि सहकारी ऐनअनुसार छुट्टै दण्डसजायको व्यवस्था पनि हुन सक्ने कानुनी व्यवस्था गरेको उनले बताए ।
उनीहरुले ठगीबाट आर्जित रकम ३८ करोड, ८६ लाख ६२ हजार १३६ रुपैयाँ रहेको खुल्न आएको छ । उनीहरुविरुद्ध हालसम्म २४ जना पीडितले नेपालस्थित अमेरिकी दुतावासमार्फत् उजुरी दिएका छन् । केही क्यानाडियन र बेलायती नागरिकहरु पनि उनीहरुबाट पीडित भएको खुल्न आएको र अनुसन्धानको कामलाई सुरु गरिएको पनि प्रहरीले जनाएको छ ।
उनीहरुले अमेरिकी नागरिकसँग अमेजनको बिल भुक्तानी, एन्टी भाइरस अपडेटलगायतका विभिन्न निहुँमा सो रकम ठगी गर्ने गरेका थिए । ठगीमा पर्नेहरुमा प्रायः वृद्धवृद्धा रहेको पनि प्रवक्ता थापाले बताए ।
शाहको समूहले ठगी गरी नेपाल ल्याएको रकम मध्ये एक करोड २८ लाख ९३ हजार ८५ रुपैयाँ बैंकहरुले रोक्का गरिदिएको पनि सीआईवीको अनुसन्धानमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया