काठमाडौँ– सरकारले कोरोनाविरुद्धको १५ लाख बुस्टर डोज खोप ५५ वर्षमाथिको उमेरसमूह, प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति, ज्येष्ठ नागरिक र अग्रपंक्तिमा खटिनेहरुलाई लगाउने भएको छ । गत सोमबार कोरोना भाइरस संक्रममणविरुद्धको अतिरिक्त मात्रा (बुस्टर डोज)का लागि थप खोप नेपाल आएको थियो ।
‘खोपका लागि ग्लोबल एलायन्स’ (गाभी)ले कोभ्याक्समार्फत जर्मन सरकारले उपलब्ध गराएको खोप नेपाललाई उपलब्ध गराएको थियो ।
सहायक प्रवक्ता अधिकारीले सम्बन्धित खोप केन्द्रहरुमा उपलब्ध हुनेगरी समन्वय गरिसकेको उल्लेख गर्दै खोपहरु उपलब्ध भइसकेको खोप केन्द्रबाट खोप सञ्चालन हुनेगरी काम सुरु भइसकेको बताए । उनले नागरिकले आफ्नो परिचय खुल्ने कागजात लिएर खोपकेन्द्र गए सहजै खोप लगाउन सक्ने बताए ।
खोप लगाउन बाँकी र बुस्टर डोज लगाउन बाँकी नागरिकहरुलाई खोप लगाइदिन उनले आग्रहसमेत गरे । बिहीबारदेखि काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा फाइजरको बुस्टर डोज लगाउन सुरु गरिएको छ ।
सहायक प्रवक्ता अधिकारीले अहिले नेपालमा आएको कोरोनाविरुद्धको खोप पहिला भएको संक्रमण र अहिले फैलिरहेको संक्रमण दुवैको हिसाबले प्रयोग गर्न मिल्ने बताए । उनले यो खोप विगतमा जुनसुकै खोप लगाएको भए पनि बुस्टरमात्राका रुपमा लगाउन मिल्ने बताए ।
प्रतिक्रिया