धनगढी- रजत जयन्ती २५औं वार्षिकोत्सवक)को उपलक्ष्यमा एसपीए कलेजले धनगढीमा रहेको मानव सेवा आश्रमलाई १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । बिहीबार मानव सेवा आश्रमको धनगढीस्थित प्रदेश कार्यालयमा गई कलेजका प्रबन्ध निर्देशक सुवाश शाहीले उक्त रकम आश्रितहरुको उपस्थितिमा आश्रमका प्रदेश आदर्श ढकाललाई हस्तान्तरण गरे ।
रकम हस्तान्तरण गर्दै शाहीले रजत जयन्तीमा भड्किलो कार्यक्रम गर्नुभन्दा मानव सेवाका लागि खर्च गर्नु उपर्युक्त हुने भएकाले उक्त सहयोग गरेको बताए । शाहीलेअन्य संस्थाले पनि आफ्ना कार्यक्रमहरुको बजेट कटौती गरेर मानव सेवामा खर्च गर्ने ट्रेन्ड बसाल्नुपर्ने सुझाव दिए । ‘सबैभन्दा ठूलो धर्म भनेकै सेवा हो । त्यो भन्दा ठूलो अरु कुनै हुन सक्दैन,’ शाहीले भने, ‘रजत जयन्तीको अवसरमा हामीले गरेको सहयोगले समारोहहरु धेरै भड्किलो बनाउँनुभन्दा मानविय सेवामा खर्च गर्नपर्छ भन्ने सन्देश दिन खोजेका छौं ।’
मानव सेवा आश्रमको धनगढी कार्यालयमा ५२ जना असहायहरु आश्रित छन् । जसको लालन पालन तथा खानाको व्यवस्था आश्रमले गर्दै आएको छ । ती आश्रितहरुको खाना, बस्न र लालनपालन तथा उपचारमा सहयोग पुगोस भन्ने हेतुले एसपीएले उक्त सहयोग गरेको हो ।
साथै प्रबन्ध निर्देशक शाहीले आश्रमको भवन निर्माणमा एउटा कोठा निर्माणको प्रायोजन समेत एसपीएले गर्ने प्रतिबद्धता जनाए । सहयोग हस्तान्तरणपछि क्याम्पस प्रमुख योगराज गौतमले मानवीय सेवामा जोडिदा एसपीए परिवारमा खुशीयाली छाएको बताए ।
‘यसले हामीलाई खुशीयाली प्रदान गरेको छ,’ गौतमले भने, ‘निस्वार्थ प्रेमिल भावले सानो सहयोग गर्दा ठूलो सहयोग बन्छ । सामाजिक उत्तर दायित्व अन्तर्गत समाजका विभिन्न अंगसँग जोडिन पाउँदा एसपीए परिवार अन्तत्यै खुशी भएको छ । आश्रममा रहेका सम्पूर्णको सुस्वास्थ दीर्घायूको कामना गर्दछौं र सेवा गर्ने अवसर दिएकोमा आश्रम प्रति हार्दिक आभार व्यक्त गर्दछौं ।
आश्रमका संयोजक ढकालले सुदूरको शैक्षिक नेतृत्व हाकिँरहेको एसपीए कलेजले मानविय सेवामा देखाएको अग्रसरताप्रति सम्मान व्यक्त गरे । ढकालले एसपीएको यस कदले अन्य संस्थाहरुलाई पनि मानवसेवामा लाग्न उत्प्रेरित गर्ने विश्वास व्यक्त गरे ।
एसपीएले शुक्रबार एक समारोहकाबीच आफ्नो २५औं वार्षिकोत्सव मनाउँदैछ ।
प्रतिक्रिया