काठमाडौँ– उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले कलंकी-महाराजगञ्ज सडक खण्डको स्थलगत निरीक्षण गरेका छन् । बिहीबार मन्त्री श्रेष्ठसहित नेपालका लागि चिनियाँ राजदूत चेन सङ, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहितको टोलीले सडकखण्डको निरीक्षण एवं अवलोकन गरेको हो ।
अवलोकनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री श्रेष्ठले दोस्रो खण्डको चक्रपथ बिस्तार अब चाँडै सुरु हुने सहमति भएकाले बताए ।
उनले भने, ‘दोस्रो खण्ड चक्रपथ बिस्तार गर्ने काम सम्पन्न गर्नुछ। कलंकीदेखि कोटेश्वरसम्मको काम सम्पन्न भइसकेको छ। यो काम अघि बढाउन पनि चीन सरकारले सहमति दिइसकेको छ। त्यसैअनुसार काम अघि बढाउन हामीले पहल गरिरहेका छौँ। यो बीचमा धेरै समयसम्म यो काम हुन सकेन। नेपालका लागि चिनियाँ राजदूतसँग छलफल गरी छिटो भन्दा छिटो काम अघि बढाउने सहमति भएको छ। समस्याको समाधान निकालीसकेको छौँ। बिजुली पोल र मन्दिरहरू अर्को ठाउँमा बनाउने तयारी भएको छ र छिट्टै हामीले काम सुरु गर्ने सहमति भएको छ। सरकारले बाँकी समस्या तदारुकताका साथ हल गर्ने कुरा भएको छ। बिजुलीका पोल, स्वयम्भूअघिको समस्याहरुका कुराहरू छन्, त्यसमा सांस्कृतिक सम्पदा भत्काउनु हुँदैन भनेर त्यहाँको डिजाइन नै परिवर्तन गर्ने कुरा भएको छ। सकेसम्म महाराजगञ्जदेखि धोबीखोलासम्म काम गर्नुहोस् भन्ने आग्रह गरेका छौँ। तर सहमति भने त्यो होइन।’
उपप्रधानमन्त्री श्रेष्ठले कलंकी(कोटेश्वर सडकखण्ड बनेको लामो समयसम्म पनि कलंकी(महाराजगञ्ज सडक निर्माण नभएको भएपनि अब भने तत्काल काम सुरु गर्ने तयारी रहेको पनि बताए ।
प्रतिक्रिया