न्यायपरिषद्ले जिल्ला न्यायाधीशका लागि आवेदन आह्वान गरेको छ । एक सूचना निकाल्दै परिषद्ले सातजना जिल्ला न्यायाधीशका लागि सूचना प्रकाशित भएको १० दिनभित्र आवेदन दिन आह्वान गरेको हो । परिषद्को ४ फागुनमा बसेको बैठकले नेपालको संविधानको धारा १४९ (२) को खण्ड (क) बमोजिम पदपूर्तिका लागि सूचना निकालेको हो ।
उक्त धारामा जिल्ला न्यायाधीश पदमा रिक्त न्यायाधीशको पदमध्ये ‘२० प्रतिशतमा कानुनमा स्नातक उपाधि प्राप्त गरी न्याय सेवाको राजपत्रांकित द्वितीय श्रेणीको पदमा कम्तीमा तीन वर्ष काम गरेका अधिकृतमध्येबाट ज्येष्ठता, योग्यता र कार्यक्षमता मूल्यांकनका आधारमा’ नियुक्त हुने उल्लेख छ ।
हाल सर्वोच्चमा पाँच, उच्चमा ४१ र जिल्लामा ३२ न्यायाधीशको पद रिक्त छ । यी ३२ को २० प्रतिशत हुन आउने सातजनाका पदपूर्तिका लागि सूचना निकालिएको हो । योग्य र इच्छुकले न्यायाधीश नियुक्तिको प्रक्रियासम्बन्धी निर्देशिका, २०७९ बमोजिम स्वघोषणासहितको आवेदन दिनुपर्नेछ ।
प्रतिक्रिया