काठमाडौँ– उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार लघुवित्त वित्तीय संस्थाको समस्या समाधान गर्न गम्भीर भएर लागेको बताएका छन् । प्रतिनिधि सभाको बैठकपछि संसद भवनबाहिर सञ्चारकर्मीलाई बुधवार प्रतिक्रिया दिँदै अर्थमन्त्री पौडेलले सरकारले लघुवित्तमा देखिएका वर्तमान समस्या समाधानको लागि गम्भीर रूपमा सरोकारवालाहरूसँग छलफल भइरहेको बताए ।
उनले विभिन्न चरणमा बैठक बसेर केही महत्वपूर्ण निर्णयसमेत भइसकेको बताए। अर्थमन्त्री पौडेलले लघुवित्त क्षेत्रमा देखिएका समस्याले लघुवित्तका ऋणी प्रभावित हुने अवस्था आएको भन्दै समस्या समाधानका लागि सम्बन्धित निकायले काम थालनी गरेको जानकारी दिए ।
उनले चाँडै लघुवित्तका समस्या समाधान गर्न सरकारको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरे । उनले सरकारका नीतिगत प्राथमिकता र न्यूनतम साझा कार्यक्रम कार्यान्वयनका लागि मन्त्रालयगत आधारमा कार्ययोजना अगाडि बढाएको बताए ।
उनले अर्थतन्त्रमा देखिएका समस्या र चुनौती समाधान गर्न सरकार केन्द्रित भइरहेको बताए । उनले सरकार उत्पादनका सबै क्षेत्र, निजी क्षेत्रका सरोकार र समस्या समाधान गर्ने दिशामा केन्द्रित रहेको बताए ।
अर्थमन्त्री पौडेलले राजस्व परिचालन, अन्तर्राष्ट्रिय सहयोग परिचालन र पुँजीगत खर्च बढाउनेतर्फ सरकार लागिरहेको बताए ।
प्रतिक्रिया