काठमाडौँ– राष्ट्रपति निर्वाचन आउन अझै केही दिन बाँकी छ । राजनीतिक दलहरु नयाँ राष्ट्रपति चयनका लागि आन्तरिक छलफलमा छन् । राष्ट्रपतिको विषयमा पार्टीहरुबीच विवाद रहेको छ ।
सत्तारुढ प्रमुख घटक नेकपा एमाले र प्रतिपक्षी बेन्चमा बसिरहेको संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले आ–आफ्नै उम्मेदवार निर्वाचित हुने दाबी गरिरहेका छन् भने सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र राष्ट्रिय सहमतिको रटान लगाइरहेको छ । यिनै विषयवस्तुमा राजनीतिक दलहरुमा खिचातानी भइरहेको छ ।
आइतबार नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकास शर्माले राष्ट्रपति पदमा कांग्रेसकै नेतृत्व हुने दावी गरेका छन् । संविधानको संरक्षक र कार्यान्वयनको जिम्मेवारीका नेपाली कांग्रेसबाट राष्ट्रपति बन्नुपर्ने उनको तर्क छ ।
सुर्खेतमा आयोजित एक कार्यक्रममा महामन्त्री शर्माले फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनपछि शीतलनिवासमा कांग्रेसकै नेतृत्व देखिने दाबी गरे । राष्ट्रपति निर्वाचनमा पुरानै गठबन्धनबीच तालमेल हुने बताउँदै उनले पुस १० गतेको समीकरण भत्किने संकेत पनि गरेका छन् ।
गठबन्धन ब्युउँताउन आवश्यक परेको अवस्थामा पुष्पकमल दाहाललाई नै पाँच वर्ष पूर्ण कार्यकाल प्रधानमन्त्री दिन सकिने बताए । उनले कांग्रेसबाट राष्ट्रपति उम्मेदवारीका रुपमा सभापति शेरबहादुर देउवासहित रामचन्द्र पौडेल, कृष्ण श्रेष्ठ, गोपालमान श्रेष्ठ र मनबहादुर विश्वकर्मासहितको चर्चा भइरहेको समेत बताए ।
सुर्खेतमा शर्माले गरेको दाबी विराटनगरमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि गरे । ओलीले फेरि एकपटक एमालेकै उम्मेदवार राष्ट्रपति निर्वाचित हुने दाबी सुनाए । एमालेले उठाएको उम्मेदवारलाई माओवादीले भोट हाल्दैन भन्ने परिकल्पना नै गर्न नसकिने भन्दै उनले फागुन १३ गते उम्मेदवार सार्वजनिक गर्ने बताए ।
ओलीले अहिलेको समीकरण जन्मँदै राष्ट्रपति नेकपा एमालेको हुने भनेर लेखिएको बताए । अहिलेको समीकरण सोच विचार गरेर नै बनाएको भन्दै ओलीले एमालेले उठाउने राष्ट्रपतिको उम्मेदवारलाई नेकपा माओवादी केन्द्रले समर्थन गर्ने विश्वास व्यक्त गरे ।
तर, नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले भने राष्ट्रपतिमा साझा व्यक्ति र राष्ट्रिय सहमति हुनुपर्ने बताएका छन् । आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा महासचिव गुरुङले पक्ष र विपक्ष नभन्ने संस्थामा साझा व्यक्ति र राष्ट्रिय सहमति हुनुपर्नेमा जोड दिएका हुन् ।
सत्ता र विपक्ष भन्ने परिकल्पना नगरिएको ठाउँमा सहमति हुन नसक्ने कारण नहुनुपर्ने उनको तर्क छ । पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा सत्ता र विपक्ष नभनी विश्वासको मत प्राप्त भए जस्तै राष्ट्रपतिमा पनि राष्ट्रिय सहमति आवश्यक भएको औंल्याएका छन् । संविधान र गणतन्त्रको रक्षा गर्ने तथा परिवर्तनलाई आत्मसात गर्ने व्यक्ति मात्रै राष्ट्रपति हुनुपर्नेमा उनको जोड छ।
प्रतिक्रिया