देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राजनीतिक प्रतिशोध साँध्न मलाई भित्र पठाइयो: अरुण चौधरी

'१८ दिन जेल बस्दा धेरै सिकेँ'

देशान्तर

काठमाडौँ–  राष्ट्रपतिको आममाफीबाट कारागारमुक्त भएका नागरिक उन्मुक्ति पार्टी (नाउपा)का नेता अरुण कुमार चौधरीले आफूमाथि राजनीतिक प्रतिशोध साधिएको आरोप लगाएका छन् । कैलाली कारागारबाट आइतबार बिहान रिहा भएपछि पत्रकारहरुसँग कुरा गर्दै चौधरीले आफूमाथि प्रतिशोध साधिएको आरोप लगाएका हुन् ।

आफ्नो रिस मान्नेहरूको योजनाअनुसार आफूलाई पक्राउ गरिएको भए पनि उनीहरूको योजना सफल नभएको उनको दाबी छ । १८ दिनको कारागार बसाइँले धेरै कुरा सिकाएको बताउँदै उनले भने, ‘आज जुन हिसाबले म भित्र आएँ, त्यो त एउटा राजनीतिक प्रतिशोधको हिसाबले भित्र आएको हो जस्तो लागिरहेको छ ।’

उनले अगाडि भने, ‘यो सानो पार्टी छ, जसरी उठिराछ, त्यसरी नै खुम्चाइदिउँ भन्ने जुन परिपाटी देखियो त्यो नेपालको राजनीतिमा त्यति राम्रो देखिएको छैन ।’

२०६६ भदौ ३ गते बन्दको अवज्ञा गरेको भन्दै ट्याक्टर जलाएको आरोपमा २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले चौधरीसहित तीन जनामाथि ६ महिना कैद र ८ लाख १९ हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको थियो । तर उनीहरु फरार भएका थिए । उनी गत वैशाखको प्रतिनिधि सभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित भएका थिए । उनी गत माघ १९ गते बाँकेबाट पक्राउ परेका थिए ।