तुलसीपुरमा माटोको जाँच गर्दा पिएच अम्लिय छ दशमलव तीनभन्दा कम रहेको पाइएको छ । त्यस्तै नाइट्रोजन, प्राङ्गारिक पदार्थ, फसफोरसको मात्रा माटोमा कमी रहेको पाइएको तुलसीपुर उपमहानगरपालिका कृषि महाशाखा प्रमुख धनराज गौतमले बताउनुभयो ।
त्यस्तै माटोमा पोटासको मात्रा मध्यम रहेकाले सिफारिस गरेको मात्राका आधारमा मात्रै प्रयोग गर्नुपर्ने उहाँले बताउनुभयो । उहाँका अनुसार जति सिफारिस गरिएको हो त्यति मात्रै चुन प्रयोग गर्नुपर्ने, प्राङ्गारिक मल एक हजार केजी प्रतिकट्ठा, माटोमा फसफोरस कम भएकाले सिफारिस मात्रामा मात्रै प्रयोग गर्नुपर्छ ।
तुलसीपुरको मुख्य बालीको रुपमा धान रहेको छ । जहाँ १० हजार हेक्टर क्षेत्रफलमा धान लगाउने गरिन्छ । जसबाट सरदर ३५ हजार मेट्रिक टन धान उत्पादन हुने कृषि महाशाखा प्रमुख गौतमले बताउनुभयो । तुलसीपुरमा १५ हजार दुई सय २७ हेक्टरमा खेती हुने गरेकोमा धान मात्रै १० हजार हेक्टर क्षेत्रफलमा खेती हुने गरेको छ ।
त्यस्तै तुलसीपुरमा वार्षिक पाँच हजार हेक्टर क्षेत्रफलमा १० हजार मेट्रिक टन मकै उत्पादन हुनेगर्छ । त्यस्तै तीन हजार हेक्टर क्षेत्रफलमा गहुँ खेती हुनेगर्छ जसबाट नौ हजार मेट्रिक टन उत्पादन हुनेगर्छ । त्यस्तै छ हजार हेक्टर क्षेत्रफलमा मसुरो खेती हन्छ जसबाट चार हजार मेट्रिक टन मसुरो उत्पादन हुने महाशाखा प्रमुख गौतमले बताउनुभयो ।
त्यस्तै तुलसीपुरमा तीन हजार हेक्टर क्षेत्रफलमा तोरी खेती हुन्छ जसमा दुई हजार मेट्रिक टन उत्पादन हुनेगर्छ । त्यस्तै एक हजार हेक्टर क्षेत्रफलमा फलफूल खेती हुने गरेकोमा त्यसबाट चार हजार मेट्रिक टन उत्पादन हुने पाइएको छ । एक हजार हेक्टर क्षेत्रफलमा तरकारी खेती हुने गरेको तुलसीपुरमा उत्पादन भने १६ हजार मेट्रिक टन हुन्छ । एक हजार हेक्टर क्षेत्रफलमा आलु खेती हुने र उत्पादन भने छ हजार मेट्रिक टन हुन्छ ।
तुलसीपुरमा धान खेतीका लागि तीन हजार एक सय २२ मेट्रिक टन रासायनिक मल आवश्यक पर्छ । जसमा युरिया एक हजार नौ सय ५०, डिएपी छ सय ६३, पोटास पाँच सय आठ मेट्रिक टन आवश्यक पर्छ । मकैका लागि नौ सय ६९ मेट्रिकटन, गहुँका लागि एक हजार एकसय ९५ मेट्रिक टन, तरकारीका लागि तीन सय ३१ मेट्रिक टन र तोरीका लागि छ सय ४४ मेट्रिक टन रासायनिक मल आवश्यक पर्छ ।
प्रतिक्रिया