देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सरकारले ३ दिनसम्म प्रजातन्त्र दिवस मनाउने

देशान्तर

काठमाडौँ– सरकारले राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ तीन दिनसम्म मनाउने तयारी गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार सबै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सबै आयोग, विभाग, प्रतिष्ठान, जिल्ला समन्वय समिति र स्थानीय तहलाई परिपत्र गर्दै प्रजातन्त्र दिवस तीन दिनसम्म मनाउन भनेको हो ।

प्रजातन्त्र दिवस मनाउन सबै प्रदेशका मुख्यमन्त्रीको अध्यक्षतामा प्रदेशस्तरीय प्रजातन्त्र दिवस मूल समारोह समिति गठन गर्न पनि परिपत्र गरिएको छ । त्यस्तै सबै सरकारी निकाय, प्रतिष्ठान, सङ्घसंस्था, कार्यालयमा राष्ट्रिय झण्डा फहराउने तथा फागुन ६, ७ र ८ गते साँझ दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको छ ।

सार्वजनिक निकाय र स्थलहरुको सरसफाइ गरी सम्भाव्य स्थानमा राष्ट्रिय झण्डा राखी सजावटसहित सौन्दर्यीकरण अभिवृद्धि गर्न पनि मन्त्रालयको परिपत्रमा उल्लेख छ ।

सञ्चारमाध्यमबाट राष्ट्रिय प्रजातन्त्र दिवससँग सम्बन्धित सन्देशमूलक कार्यक्रम प्रकाशित तथा प्रसारित गर्ने र दिवस केन्द्रित सांस्कृतिक, साहित्यिक, शैक्षिक क्षेत्रसम्बद्ध सृजनात्मक तथा रचनात्मक प्रतियोगिताका कार्यक्रम आयोजना गर्न पनि परिपत्र गरिएको छ ।