काठमाडौँ– उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठले सत्ता समीकरण बदलिहाल्ने आफूहरुको चाहना नभएको बताएका छन् । बिहीबार सुर्खेतमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै माओवादी वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठले समीकरण बदल्ने आफूहरुको चाहना नभएको र आफूहरुका कारण यो परिस्थिति सिर्जना नहुने बताए । तर राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसलाई समेत समेट्ने गरी सहमति खोज्न चाहेको बताए ।
प्रधानमन्त्रीले विश्वासको मत माग्दै अधिकांश दलले मत दिएकाले राष्ट्रपति निर्वाचनमा पनि राष्ट्रिय सहमति चाहेको उनले बताए । श्रेष्ठले अगाडि भने, ‘राष्ट्रपति चयनका सन्दर्भमा पनि प्रमुख प्रतिपक्षलाई समेत विश्वास लिएर राष्ट्रिय सहमतिको वातावरण अझ सुदृढ गर्ने गरी अगाडि बढ्नु सान्दर्भिक हुन्छ ।’
केही दलले त गठबन्धन भत्काउन खोजिएको भनेका छन् नि भन्ने प्रश्नमा उनले कसैले चाहेर मात्र गठबन्धन नभत्किने बताए । सरकार चलाइरहेका दलहरुले सही दृष्टिकोण, नीति र कदम चालेर विश्वासको वातावरण बनाइराख्नुपर्ने भन्दै उनले भने, ‘तर प्रतिगमनलाई कुनै हालतमा अघि बढ्न दिन चाहनौं ।’
राष्टियताको रक्षा, समृद्धि र शान्ति प्रक्रियाका बाँकी काम आफूहरुको प्राथमिकता भएको उनले बताए । श्रेष्ठले भने, ‘यसलाई पूरा गर्ने गरी अघि बढ्यौं भने बाहिरबाट कसैले चाहेर मात्र केही हुन्न । यसो गर्न सकिएन भने हामीले चाहँदैमा वा नचाहँदैमा केही हुन्न ।’
प्रतिक्रिया