काठमाडौँ– गोरखामा रेबिजका कारण एक बालकको मृत्यु भएको छ । गोरखाको बारपाक सुलिकोट गाउँपालिका ४ का चार वर्षीय बालकको रेबिजका कारण मृत्यु भएको हो ।
बालकको उपचारका क्रममा गए राति गोरखा अस्पतालमा मृत्यु भएको उनको परिवारले जनाएको छ । उनलाई पुषमा अजिरकोट गाउँपालिका ४ को बालुवा बजारमा कुकुरले टोकेको थियो ।
स्थानीय मेडिकलमा सामान्य उपचार गरे पनि केहीदिनदेखि उच्च ज्वरो आउन थालेपछि उनलाई उपचारका लागि फागुन १ गते गोरखा अस्पताल ल्याइएको थियो ।
अस्पतालले रेबिजको आशङ्कामा थप उपचारका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु पठाएकोमा अस्पतालले उपचार सम्भव नभएको भन्दै घर पठाएको थियो ।
काठमाण्डौबाट फिर्ता गरिएका बालकलाई बुधवार गोरखा अस्पतालमै भर्ना गरिएको थियो ।
रेबिजका कारण बालकको मृत्यु भएपछि अजिरकोट गाउँपालिका ४ बालुवा बजार र बालकको घर भएको ठाउँ बारपाक सुलिकोट गाउँपालिका ४ मा पनि अभिमुखीकरणको तयारी गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
प्रतिक्रिया