काठमाडौँ– भारतीय विदेश सचिव विनय मोहन क्वात्रा काठमाडौं आइपुगेका छन् । उनी सोमबार दिउँसो भारतीय वायु सेनाको विमानमार्फत त्रिभुवन विमानस्थल काठमाडौं ओर्लिएका हुन् ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल, नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तव लगायतले स्वागत गरे ।
परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको निमन्त्रणमा उनी दुईदिने नेपाल भ्रमणमा आएका उनी विमानस्थलबाट सिधै होटल याक एण्ड यती गएका छन् । त्यहाँ नेपाल–भारत द्विपक्षीय सचिवस्तरीय संयन्त्रको बैठकमा उनी सहभागी भएका छन् ।
विदेश सचिव क्वात्राले प्रधानमन्त्री, राजनीतिक दलका प्रमुख, सरकारी उच्च अधिकारी लगायतसँग भेटघाट गर्नेछन् । छलफलपछि परराष्ट्र सचिव पौडेलले उनको सम्मानमा आयोजित लञ्च कार्यक्रममा सहभागी हुनेछन् । परराष्ट्र सचिवले दिएको लन्च पछि भारतीय विदेश सचिवले परराष्ट्र मन्त्री विमला राई पौड्यालसँग द्वि–पक्षीय भेटघाट गर्नेछन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको निमन्त्रणा पत्र हस्तान्तरण गर्नेछन् । सोमवार नै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम तय भएको छ ।
विदेश सचिव क्ववत्राले मंगलवार भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटघाट गर्नेछन् । मंगलवार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गरे पछि स्वदेश फर्कने कार्यक्रम छ ।
प्रतिक्रिया