लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुको शपथ आज हुने भएको छ । प्रदेश राजधानी दाङमा दिउँसो १ बजे शपथ ग्रहणको कार्यक्रम तय भएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।
मुख्यमन्त्री लीला गिरीले सरकारलाई समर्थन गरेका चार दलका सात जनालाई मन्त्रिमण्डलमा समावेश गरेर सरकारलाई पूर्णता दिनु भएको छ । यसअघि गिरीले गत पुस २८ गते दुई जना बिना विभागीय मन्त्री नियुक्तिसहित तीन सदस्यीय मन्त्रिपरिषद् गठन गर्नु भएको थियो ।
मुख्यमन्त्री गिरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ अनुसार मौजुदा मन्त्रिपरिषद्मा मन्त्रीहरूको नियुक्ति र कार्यविभाजन गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता ऋषिराम पन्थीले राति जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
मुख्यमन्त्री गिरीले गत पुस २८ गते बिना विभागीय मन्त्री बनेका दुईसहित नौ सदस्यीय मन्त्रिपरिषद विस्तार गरी कार्यविभाजन गर्नु भएको छ । विस्तारित मन्त्रिपरिषद्मा सरकारको नेतृत्व गरेको नेकपा एमालेबाट चार, नेकपा (माओवादी केन्द्र)बाट तीन तथा राप्रपा र जनमत पार्टीबाट एक–एक जना नियुक्त भएका छन् ।
प्रतिक्रिया