देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आज देशभरका अस्पतालमा आकस्मिक बाहेक सबै सेवा बन्द

देशान्तर

नेपाल चिकित्सक संघले देशैभरका अस्तालमा आकस्मिक सेवाबाहेक अन्य सम्पूर्ण सेवा आजका लागि बन्द गरेको छ । संघका आजीवन सदस्यसमेत रहेका राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंह लगायत अन्य डाक्टर माथि प्रहरीले लाठीचार्ज गरी घाइते बनाएको घटनाको विरोध गर्दै संघले आज देशैभरका अस्पताल र स्वास्थ्य संस्थाका सेवा बन्द गरेको हुन् ।

विरोध स्वरुप आजका लागि देशभरका सरकारी तथा गैरसरकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल, निजी तथा सरकारी मेडिकल कलेज, प्रतिष्ठानलगायत सम्पूर्ण स्वास्थ्य संस्था तथा अस्पतालहरूमा आकस्मिक सेवाबाहेकका अन्य सम्पूर्ण सेवाहरू बन्द गरिएको संघका अध्यक्ष डा. लोचन कार्कीले जानकारि दिनुभयो ।

चिकित्सक संघले विधि र विधान स्थापित गर्न उठाएको यो कदमलाई साथ र समर्थन गर्न संघले देशैभरका नागरिकहरूलाई आग्रहसमेत गरेको छ । भीभीआइपीको सुरक्षाका नाममा प्रहरीले स्वास्थ्य सेवाजस्तो संवेदनशील क्षेत्रमा कार्यरत चिकित्सकलाई आक्रमण गरी गम्भीर घाइते बनाइएको र स्वास्थ्य सेवा लिन आएका हजारौं बिरामीलाईसमेत अस्पताल पुग्न नदिएर अलपत्र पार्ने अवस्था सिर्जना गरिएको भन्दै नेपाल चिकित्सक संघले विज्ञप्ति निकालेर विरोध गरेको छ ।

भीभीआइपी सवारीका नाममा नागरिकलाई सास्ती दिने, अस्वभाविक सुरक्षाको प्रबन्ध मिलाउने र घण्टौं जाम गरेर दैनिक जीवनयापनमा अत्यन्तै असहज परिस्थिति सिर्जना गर्नु न्यायोचित नहुने नेपाल चिकित्सक संघका महासचिव डा. बद्री रिजालले वताउनु भयो ।

उता राष्ट्रपतिको सवारीका बेला हिँडेको आरोपमा चिकित्सक सिंहमाथि कुटपिट गर्ने वरिष्ठ हवल्दार शम्भुजंग गुरूङलाई प्रहरीले निलम्बन गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले वरिष्ठ हवल्दार गुरूङलाई निलम्बन गरेको नेपाल प्रहरीका प्रवक्ता डिआइजी पोशराज पोखरेलले जानकारी दिनुभयो ।

यसैविच राष्ट्रिय स्वतन्त्र पार्टीले नेपाल चिकित्सक सङ्घलाई अस्पताल बन्द गर्ने निर्णय फिर्ता लिन आग्रह गरेको छ। महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकालले एक विज्ञप्ति जारी गरी चिकित्सकमाथि प्रहरीद्वारा भएको लाठीचार्जको घटनाप्रति दुःख व्यक्त गर्दै चिकित्सक सङ्घलाई अस्पताल बन्द गर्ने निर्णय फिर्ता लिन आग्रह गर्नु भएको छ ।