काठमाडौँ– नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले अहिलेसम्म सत्तामा बसेका नेताहरुबाट मुलुक नबन्ने ठोकुवा गरेका छन् । शुक्रबार विवेकशील साझा पार्टीको प्रथम अधिवेशनलाई शुभकामना मन्तव्य व्यक्त गर्दै नेता भण्डारीले अहिलेसम्म देश बनाउने अधिकार पाएका नेताहरुलाई विदाई गर्न जरुरी रहेको बताए ।
उनले नेपालको राजनीतिमा समयअनुसारका मुद्दा उठाउन नसकेको स्वीकार्दै भने,‘हामीले समयअनुसारका मुद्दा उठाउन सकेनौं त्यसकारण अब अहिलेसम्म प्राप्त व्यक्तिहरु, जसले अधिकार प्राप्त गर्नुभयो, मुलुक बनाउने जिम्मा लिनुभयो उहाँहरुबाट मुलुक बन्दैन र उहाँहरुलाई विदा नगरी मुलुक अघि पनि बढ्दैन’।
उनले त्यसका लागि हरेक पार्टीमा त्यसका लागि लडाई गर्न जरुरी रहेको पनि बताए । उनले अहिलेका नेताबाट मुलुक बन्दैन भनेर आफ्नै पार्टीमा पनि भनिसकेको बताए ।
उनले नेपालमा कानूनले काम गरेको भए देउता मानेका धेरै नेता जेलमा हुने बताए । उनले भने, ‘नेपालमा कानूनले काम गरेको भए देउता मानेका धेरै नेता जेलमा हुन्थे। नेपालमा कानूनले काम गरेन आत्मसमर्पण गर्यो। यो एउटा पक्ष हो तर अर्को राम्रो पक्ष छ। त्यो पक्ष हामीले ल्याएको प्रणाली हो । यो प्रणालीमा हरेक फूलहरु फूल्ने र आफूले आफ्नो क्षमता प्रदर्शन गर्न सक्ने ब्यवस्था हामीले निर्माण गरेका छौ ं।’
प्रतिक्रिया