देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रपति भण्डारीले आज संसद्मा विशेष सम्बोधन गर्ने

देशान्तर

राष्ट्रपति विद्यादेवी भण्डारीले आज प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्दै हुनुहुन्छ । अपराह्न ३ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार राष्ट्रपतिले गर्ने विशेष सम्बोधन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा र राष्ट्रियसभामा छुट्टाछुट्टै टेबल गर्ने तयारि छ । त्यसपछि संयुक्त बैठकले धन्यवादको प्रस्ताव पारित गर्ने कार्यसूची तयार भएको सचिवालयले जनाएको छ।

नेपालको संविधान धारा ९५ बमोजिम राष्ट्रपतिले आज दिउँसो तीन बजे सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न लाग्नु भएको हो । संविधानको धारा ९५ मा राष्ट्रपतिले सङ्घीय संसद्को कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्न सक्ने व्यवस्था छ ।

दुई कार्यकालसम्म राष्ट्रपति वन्नु भएकी भण्डारीको आज हुने विशेष सम्बोधनलाई ‘बिदाइ सम्बोधन’को रूपमा हेरिएको छ । नेपालको संविधानले एक व्यक्ति दुई पटक भन्दा राष्ट्रपति हुन नसक्ने प्रावधान राखेको छ । निर्वाचन आयोगले पनि मुलुकको तेस्रो राष्ट्रपतिका लागि आगामी २५ फागुनका लागि नयाँ निर्वाचनको कार्य तालिका सार्वजनिक गरिसकेको छ । जसअनुसार नयाँ राष्ट्रपतिको निर्वाचनका लागि तयारी सुरु गरिसकेको निर्वाचन आयोगले जनाएको छ ।

दुई कार्यकालको जिम्मेवारी पुरागर्नु भएकी राष्ट्रपति भण्डारीले भोलि साँझ रात्रि भोजको समेत आव्हान गर्नु भएको छ । उक्त रात्रि भोजमा उपराष्ट्रपति, प्रधानमन्त्री, सर्वोच्च अदालतका प्रधानन्यायाधीश, मन्त्रीहरू, सुरक्षा निकायका तीनै प्रमुखहरू, मुख्यमन्त्री, सांसदहरू, संवैधानिक निकायका प्रमुख र उच्च अधिकारीहरू, कूटनीतिक नियोगका अधिकारीहरूलाई निम्तो गरिएको छ । भण्डारि नेपालको पहिलो महिला राष्ट्रपतिको रूपमा नाम दर्ज गरेर २५ फागुनबाट औपचारिक रूपमा बिदा हुँदै हुनुुहुन्छ ।