काठमाडौँ– सरकारी वकिलको कार्यालय काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको पासपोर्टमाथि परेको जाहेरीका विषयमा अनुसन्धान थालेको छ । आफूकहाँ पेश भएको जाहेरीका आधारमा सरकारी वकिल कार्यालयले एकसाथ तीन निकायबाट कागजात मगाएर अनुसन्धान थालेको हो ।
सरकारी वकिलको कार्यालयले आजमात्रै निर्णय गरेर जिल्ला प्रशासन कार्यालय, अध्यागमन विभाग र राहदानी विभागबाट रविको बारेमा विस्तृत विवरण मगाएका जनाएको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंले लामिछाने विरुद्धको जाहेरी दर्ता लिन अस्वीकार गरेपछि युवराज पौडेल सफलले सरकारी वकिलको कार्यालय, काठमाडौंमा जाहेरी पेश गरेका थिए । सरकारी वकिलले जाहेरीमा उल्लेखित व्यहोरासँग सम्बन्धित कागजात र अरु विवरण मगाएको हो ।
‘कायम नभएको’ नेपाली नागरिकता देखाएर लामिछानेले नेपाली पासपोर्ट लिएकोले उनीमाथि झुटो विवरण पेश गरेको आरोप लागेको हो । सरकारी वकिल कार्यालय, काठमाडौंले अध्यागमन विभागलाई २८ वैशाख २०७२ मा लामिछानेले लिएको ०८८३४८३८ नम्बरको नेपाली पासपोर्ट लिएपछि विदेश भ्रमण गरे÷नगरेकोवारे विवरण पठाउन भनेको छ ।
तीनवटा निकायबाट विवरण आएपछि त्यसका आधारमा अघि बढ्ने सरकारी वकिलको तयारी छ । जाहेरीमा उल्लेखित व्यहोरा पुष्टि हुनेगरी कागजात आएमा त्यसका आधारमा छानबिन गर्नु भनी सरकारी वकिलको कार्यालयले जिल्ला प्रहरी परिसर, काठमाडौंमा जाहेरी पठाउनेछ । मुलुकी फौजदारी कार्यविधि संहिता ऐनमा भएको व्यवस्था अनुसार, प्रहरीले जाहेरी नलिएर सरकारी वकिलले त्यसको दर्ता गरी प्रहरीलाई अघि बढाउन निर्देशन दिने व्यवस्था छ ।
लामिछानेमाथिको आरोप पुष्टि भए उनीमाथि अहिलेको नभई २०२४ सालमा जारी भएको राहदानी ऐन अनुसार कारबाही हुने छ । पुरानो ऐनको दफा ५ मा ‘जानीजानी झुट्टा विवरण दिई पासपोर्ट प्राप्त गरेमा वा प्राप्त गर्ने उद्योग गरेमा’ तीन वर्षसम्म कैद र तीसहजार रुपैयाँसम्म जरिवाना हुने भन्ने व्यवस्था छ ।
लामिछानेविरुद्ध जाहेरी दिएका युवराज पौडेलले प्रहरीमा पेश गरेको जाहेरीको प्रतिलिपी अनौपचारिक रुपमा समेत महान्यायाधीवक्ता कार्यालयमा पुगेको छ ।
प्रतिक्रिया