काठमाडौँ– नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभाका सांसद प्रदीप पौडेलले आफूलाई संसद ‘चुनावी सभा’ हो कि भन्ने आभास भइरहेको टिप्पणी गरेका छन् । बुधबार काठमाडौंमा आयोजित ‘अबको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल’ विषयक विचार गोष्ठीमा बोल्दै उनले आफू पहिलो पटक संघीय संसदमा पुगेको उल्लेख गर्दै त्यो ठाउँ संसद हो कि चुनावी सभा छुट्टयाउन गाह्रो भइरहेको बताएका हुन् ।
नेता पौडेलले संसदमा झुटो बोल्नु हुँदैन भन्ने हेक्कासमेत सांसदहरूले राख्न नसकेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे ।
उनले संसदमा झूटो बोल्दा आफ्नो खण्डन हुने र त्यसबाट व्यक्तित्वमा आँच आउन कुरालाई समेत हेक्का नराखि नेताहरूले बोल्ने गरेकोमा पनि आपत्ति जनाए । सांसद पौडेलले भने, ‘मलाई यो संसद होकि चुनावी सभा हो ? छटयाउन गाह्रो भईरहेको छ । कुनै तथ्यमा आधारित भएर बोल्नु पर्दैन । सबैको नजर केन्द्रित भएर संसदमा झुटो बोल्नु हुँदैन । यसलाई खण्डन गरिनेछ । यसले मेरो व्यक्तित्वमा आँच आउनेछ ।’
उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदमा गरेको सम्बोधनमा अहंकार देखिएको बताए । नेपालको अस्थिरताको सबैभन्दा ठूलो कारक नै ओली प्रवृत्ति भएको उनको भनाइ छ । उनले ओलीको अभिव्यक्तिपछि प्रतिनिधिसभा पूरा कार्यकाल टिक्नेमा आशंका उब्जिएको बताए ।
उनले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई संकेत गर्दै भने, ‘नयाँ भनिएकाहरुमा पनि धेरै समय लागेन । थोरै समयमा सत्ता लिप्सा देखियो । स्वार्थहरु टकराएको देखियो । फेरि पुरानै शैलीलाई अपनाउन खोजे जस्तो देखियो । हामी हाम्रो पार्टीलाई व्यवस्थित गर्न लागिरहेका थियौं । कमीकमजोरी हाम्रो पार्टीमा छ । त्यसभित्र लडिरहेका छौँं ।’
प्रतिक्रिया