देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सरकारी बिदा धेरै भए, पुनर्विचार गर्नुपर्छ: प्रधानमन्त्री

"यसले सेवा प्रवाह प्रभावित भयो"

देशान्तर

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारी बिदा धेरै भएकाले सेवा प्रवाह प्रभावित भएको बताएका छन् । मंगलबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा प्रधानमन्त्रीले सरकारी बिदाहरू धेरै भएकाले जनताका काम गर्ने समय कम भएको र सेवा प्रवाहमा समस्या देखिएको भन्दै बिदामा पुनर्विचार आवश्यक भएको बताएका हुन् ।

‘हाम्रा सरकारी बिदाहरू धेरै भए । यसले जनताका काम गर्ने समय कम भएको छ, सेवा प्रवाहमा समस्या देखिएको छ । यसबारे पुनर्विचार आवश्यक छ भनेर हामीले मन्त्रिपरिषद्मा पनि छलफल गरेका छौँ । गृहकार्य गरेर यसमा पुनर्विचार गर्नुपर्छ,’ उनले भने ।

प्रधानमन्त्री प्रचण्डले प्रजातन्त्र दिवस, लोकतन्त्र दिवस, गणतन्त्र दिवसमा एकै प्रकृतिका कार्यक्रम गरिँदै आएकाले त्यसबारे समेत थप छलफल आवश्यक भएको बताए । ‘हामीले गणतन्त्र दिवस मनाउँछौँ, प्रजातन्त्र दिवस मनाउँछौँ, लोकतन्त्र दिवस मनाउँछौँ । तर, ती सबै कार्यक्रमको चरित्र एउटै छ । त्यसलाई कसरी एकीकृत गर्ने, राष्ट्रिय दिवसमा जनताको सहभागिता कसरी गर्ने भन्नेबारे पनि छलफल आवश्यक छ,’ उनले भने ।

बैठकले आगामी फागुन ७ गते विविध कार्यक्रमका साथ प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको छ । त्यसका लागि प्रधानमन्त्रीको संयोजकत्वमा मूल समारोह आयोजक समितिसमेत गठन गरिएको छ ।