नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ। सोमबार राति १२ बजेबाट लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टीतेल लिटरमा ३ रूपैयाँ बढाएको हो।
निगमद्वारा जारी विज्ञप्तिअनुसार नयाँ मूल्यसँगै अब काठमाडौं उपत्यकामा पेट्रोल लिटरको १ सय ७८ रूपैयाँ र डिजेल तथा मट्टीतेल १७५ रूपैयाँ लिटर पर्नेछ।
निगमले खाना पकाउने एलपी ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत राखेको छ । हाल एलपी ग्यास एक हजार ८ सय रूपैयाँ छ । हवाइ इन्धन आन्तरिक तर्फको प्रतिलिटर १७० रूपैयाँ छ ।
निगमले भारतीय आयल कर्पोरेसन आइओसी बाट नयाँ मूल्यसूची प्राप्त भएको जानकारी दिँदै मूल्य समायोजन गरिएको जनाएको छ । आयल निगमले अन्तर्राष्ट्रिय बजारबाट आफैं कच्चा तेल खरिद गर्दैन । आइओसीबाट आफूलाई चाहिने सबै किसिमका प्रशोधित पेट्रोलियम पदार्थ खरिद गर्दै आएको छ । पेट्रोलियम किनेबापत् आइओसीले हरेक महिना पन्ध्र–पन्ध्र दिनमा आयल निगमलाई मूल्य पठाउँछ ।
आइओसीले पठाउने मूल्य उसले अन्तर्राष्ट्रिय बजारबाट किन्ने कच्चा तेलको लागतमा आधारित रहने गरेको छ । लागत मूल्यमा आफ्नो प्रशोधन शुल्क लगायत खन्य खर्चहरू जोडेर आइओसीले नेपालको निम्ति बिक्री मूल्य तय गर्दै आएको छ ।
प्रतिक्रिया