देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संसदको हिउँदे अधिवेशन अझै डेढ महिना चल्ने

२० वटा विधेयक पास गर्ने सरकारको तयारी

देशान्तर

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदीय दलका प्रमुख सचेतकहरुसँग छलफल गरेका छन् । सोमबार बिहान प्रधानमन्त्री दाहालले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संसदीय दलका प्रमुख सचेतक र स्वतन्त्र सांसदहरुसँग संसदका गतिविधिहरुलाई चलयामान बनाउने विषयमा छलफल गरेका हुन् ।

उनले छलफलका क्रममा संसदमा कस्तो बिजनेस लैजाने र यो अधिवेशनमा कति वटा विधेयकहरु संसदबाट पास गर्ने भन्नेबारेमा प्रमुख सचेतकहरुबाट सुझाव लिएका थिए ।

छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले छलफलमा प्रधानमन्त्री दाहालले संसदको बिजनेस कसरी अघि बढाउने र यो सत्रमा कस्ता विधेयकहरु लैजाने भन्नेबारेमा छलफल गरेको बताए । उनले संसद अहिले प्रभावकारी नबनेको भन्दै संसद भाषणको रमिता देखाउने कुरामै सीमित रहेको बताए ।

उनले आफूले नागरिकता ऐन, संघीय कर्मचारी ऐनजस्ता विधेयकलाई संसदको बिजनेस बनाइनुपर्ने कुरा अघि सारेको जानकारी दिए । हिउँदे अधिवेशन अझै डेढ महिनासम्म चल्ने र यो बीचमा करिब २० वटा विधेयक संसदबाट पास गर्ने प्रतिबद्धता प्रधानमन्त्री दाहालले जनाएको उनले बताए ।

त्यस्तै, नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले आजको प्रमुख सचेतकहरुसँगको बैठकमा प्रधानमन्त्रीले सदनलाई कसरी व्यवस्थित गर्ने, यसका साथै विधेयकहरुलाई कसरी जनमुखी बनाउने, जनताका आवश्यकतासँग कसरी जोड्ने, सुशासन कसरी कायम गर्ने, शान्ति प्रक्रियाका बाँकी कामलाई कसरी अघि बढाउने? लगायतका अत्यावश्यक विधेयकलाई कसरी अघि बढाउने भन्नेबारेमा छलफल गरेको बताए ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले संसद सुचारु भए पनि संसदले गर्ने कार्य सुखद् नभएको भन्दै प्रधानमन्त्रीले आज बैठक बोलाएको बताए । उनले प्रधानमन्त्रीसँग दलका प्रमुख सचेतकहरुले संसदलाई कसरी सुचारु गर्ने भन्नेबारेमा छलफल गरेको बताए । उनले संसद सुचारु भए पनि संसदका प्राविधिक कुराहरुमा नै अहिलेसम्म अड्किएकाले अबका दिनमा संसदलाई कस्तो बिजनेस दिने भन्नेबारेमा छलफल भएको बताए ।

त्यस्तै, नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक प्रकाश ज्वालाले संसदले बिजनेस नपाएको र संसदमा विधेयकहरु अघि नबढिरहेको सन्दर्भमा प्रधानमन्त्रीले दलका प्रमुख सचेतकहरुसँग सुझाव लिएको बताए। उनले सहज रुपमा सरकारले संसदमा विधेयकहरु पेस गर्नका लागि के कस्ता अफ्ठ्याराहरु छन् र कसरी बाधा फुकाउने भन्ने कुरामा छलफल भएको बताए ।

प्रमुख सचेतक ज्वालाले अहिले प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले काम गरिरहेको र संसदीय समितिहरु नबन्दा सरकारले संसदमा विधेयकहरु पेस गर्दा अफ्ठ्यारो हुने कुराको बारेमा पनि छलफल भएको बताए ।