नेपालको प्रजातान्त्रिक आन्दोलनका लौहपुरुष गणेशमान सिंहले एक पटक मात्र होइन, धेरै पटक भन्नुभएको थियो– नेपाली जनता भेडा–बाख्रा हुन् । सन्दर्भ र प्रसंग मिलाएर उहाँले आमसभामा त्यसोभन्दा पनि जनताले हुटिङ नगरेर उल्टो समर्थनमा ताली बजाएको देख्दा बुद्धिजीवीहरू आश्चर्यचकित हुन्थे ।
जनताले ठूलो संघर्षबाट प्राप्त गरेको प्रजातान्त्रिक अधिकार, त्यसैका विरोधमा प्रयोग गरेको र तिनको समर्थनमा जनता उचालिएको देख्दा मनमा उत्पन्न भएको विरक्तिलाई व्यक्त गर्न उहाँले जनतालाई भेडा र बाख्राको उपमा प्रदान गर्नु भएको थियो ।
त्यसको सरल र सोझो अर्थ थियो– गलत नेतृत्वको भड्काउपूर्ण भाषणमा बुर्लुक्क उफ्रेर त्यसैका पछाडि पंक्तिबद्ध भएर लाग्ने भीड, भेडा हुन् । अर्थात् दायाँबायाँ कतै नहेरी जुनसुकै ब्रान्डका नेताका पछाडि आँखा चिम्लेर एकोहोरो दौडिने भेडाका बथान हुन् ।
कतिसम्म भने कदाचित आफू अगाडिको भेडा, खोला अथवा खाल्डामा खस्यो भने उसका पछाडि आउने भेडा सबै भ्mयाम्लाङ्–झुम्लुङ खोलाको पानीमा हाम्फाल्छन् । उनीहरूमा विवेक हुँदैन, त्यसैले विवेचना पनि गर्दैनन् ।
बाख्राको बथान, त्यसरी कसैको पछि लाग्दैन । उनीहरू सबै, खेतबारी, चउर, पाखा आदिमा स्वतन्त्र छरिएर चर्न, फैलिएका हुन्छन् । उनीहरूलाई गोठालाले धपाएर नल्याएसम्म गोठमा पनि फर्किएर आउँदैनन् । त्यसैले साँझ परेपछि गोठालाहरूले बाख्रा र तिनका पाठालाई चारैतिरबाट छेकेर गोठमा ल्याउनुपर्छ ।
भेडाको बथान जतिसुकै ठूलो किन नहोस्, एउटा नाइकेलाई सिङमा समातेर ल्याएपछि बाँकी सबै त्यसका पछि लागेर खोरमा आउँछन् तर बाख्रा त्यसरी आउँदैनन्, गोठालाका बथानले सबैतिरबाट छेकेर गोठमा हुल्नुपर्छ ।
गणेशमान सिंहका अनुभवले खारिएका ती अभिव्यक्तिलाई अहिलेको राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वको पदलोलुपता र त्यसका पछाडि त्यो पार्टीका सांसदहरूले प्रदर्शन गरेको निरीहपनलाई दाँजेर हेर्दा भेडा र बाख्रा दुवैको बिम्ब र प्रतिबिम्बको चरित्र चित्रण, बडो स्पष्ट र सटिक लाग्छ ।
राजतन्त्रमा राजाका परिवार र राणा शासनमा, ‘ए’ क्लासका राणा परिवारका सदस्यबाहेक अरूले राजकाजमा भाग लिन पाउँदैनथे । त्यही कारण २००७ सालको क्रान्ति भयो र प्रजातन्त्र आयो । राजनीतिमा जनता तत्वको केन्द्रीय भूमिका स्थापित भयो । त्यसपछि नै हो, पार्टीका माध्यमबाट जनताले राजकाजमा भाग लिन पाएको । राजा महेन्द्रलाई त्यो पनि सैह्य भएन र २०१७ साल पुस १ गते प्रतिगमन भयो । राजाको निरंकुश शासन ३० वर्ष चल्यो । २०४६ को ऐतिहासिक जनआन्दोलनले निर्दलीय पञ्चायत व्यवस्थाको अन्त्य गरेपछि बल्ल बहुदलीय व्यवस्था पुनस्र्थापित भएको हो । अहिले राजनीति जहाँ आइपुगेको छ, त्यसको बाटो त्यसैले खोलेको हो ।
त्यो आन्दोलनको आह्वान र नेतृत्व गणेशमान सिंहले गर्नु भएकाले राजा वीरेन्द्रले परिवर्तनलाई संस्थागत गर्ने अन्तरिम सरकारको नेतृत्व गर्न उहाँलाई आग्रह गर्नु भएको थियो । राजाको उदार अनुग्रहका निम्ति कृतज्ञता ज्ञापन गर्दै आफूभन्दा योग्य र सक्षम व्यक्तिलाई प्रधानमन्त्री पद प्रदान गर्न कृष्णप्रसाद भट्टराईको नाम उहाँले सिफारिस गर्नु भएको थियो । त्यसपछि एक वर्षभित्र कसरी संविधान बन्यो र इतिहासमा पहिलो पल्ट नेपाली जनता सार्वभौमसत्ता सम्पन्न नागरिक बने, त्यो निकट अतीतको इतिहास भएकाले दोहो¥याइरहन आवश्यक छैन ।
त्यही बहुदलीय प्रजातन्त्रलाई प्रतिक्रियावादी घोषित गर्दै त्यसलाई ध्वस्त पारेर त्यही ध्वंशमा नयाँ जनवादी राज्यव्यवस्था स्थापना गर्न माओवादीले २०५२ देखि २०६२ सम्म कथित् जनयुद्धका नाममा हत्या, हिंसा र आतंकको ताण्डव मच्चाएर १७ हजार नेपालीको हत्या मात्र गरेका थिएनन्, बाह्रबुँदे दिल्ली सम्झौताका माध्यमबाट हाम्रो सार्वभौमसत्ता पनि संकुचित तुल्याएको थियो । त्यसको प्रमाण, प्रधानसेनापति रुक्माङ्गद कटुवाललाई हटाउन खोज्दा प्रधानमन्त्री प्रचण्ड आफंैले पदत्याग गर्नु परेको र त्यसपछि उनले दिल्लीलाई धारेहात लगाएर सरापेको घटनाले छर्लंग पारेकै छ । जसरी बाह्रबुँदे दिल्ली सम्झौताले मुलुकको सार्वभौमसत्ता संकुचित भएको थियोे, त्यसैगरी एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला गैरसंवैधानिक तरिकाले दुई पटक प्रतिनिधिसभा भंग गर्न खोजेर प्रजातन्त्र उनलाई कति अपच भएको छ, त्यो जाहेर गरेका थिए । उनी वर्तमान प्रतिनिधिसभालाई पनि असफल तुल्याएर नेपाललाई प्रजातन्त्र कुनै हालतमा हजम हुँदैन भन्ने महेन्द्रपथलाई फेरि सही सावित गर्न कम्मर कसेर लागेका छन् । स्वतन्त्र पार्टीका रवि लामिछानेलाई उपप्रधानमन्त्रीमा पुनः नियुक्त गराएर सर्वोच्च अदालतको तेजोबध गर्ने मात्र होइन, राष्ट्रपति, सभामुख र प्रधानमन्त्री तीनै पद हत्याएर सत्ताकब्जाको पुरानो सपना साकार पार्ने कसरतमा पनि उनी प्राणप्रणले लागिरहेकै छन् । त्यसैले उनी भेडा र बाख्राको बथान रोजिरहेका छन्– गठबन्धनका स्वाभिमान पार्टनर होइन ।
पार्टी भनेको आदर्श, सिद्धान्त र नैतिकताका आधारमा एकत्रित जमातले शक्ति आर्जन गर्ने माध्यम हो । त्यसैले उसको मिसन र गन्तव्य बडो प्रष्ट हुन्छ, किनभने त्यसैका आधारमा संगठन विस्तार गरेर अंततः जनताको समर्थनमा शक्ति आर्जन गर्न समर्थ हुनु हो । एक व्यक्तिका नाममा, चाहे त्यो जतिसुकै विलक्षण प्रतिभाको धनी किन नहोस्, चलेको र एक्लैले हाँकेको पार्टीको भविष्य छोटो हुन्छ । यथार्थमा त्यो पार्टी नै हुँदैन, प्राइभेट लिमिटेड हुन्छ । त्यसमाथि सुशासनको नारा लगाएर कुशासन फैलाउनेकै तलुवा चाट्न पुगेपछि त्यस्तो पार्टी र नेतृत्वबाट केही हुन्छ भन्ने अपेक्षा राख्नु बालुवा निचोरेर तेल निकाल्न खोज्नुजस्तै हो ।
कामका निम्ति आफ्नो मातृभूमि त्याग्न र अर्को देशको गुलाम हुन तयार हुने व्यक्तिले नेतृत्व गरेको दलबलले भोलि क्रयविक्रय पर्दा सार्वभौमसत्ताको पनि सौदा नगर्लान् भनेर कसले ग्यारेन्टी गर्न सक्छ ? यो सवाल अप्रिय अवश्य लाग्न सक्छ तर असान्दर्भिकको दाबी कसैले गर्न सक्तैन ।
एउटा गृहमन्त्री पदका लागि सम्पूर्ण लज्जा परित्याग गरेर आफ्ना सांसदको टाउकोमा टेकेर एक्लै बालुवाटार र बालकोटको लिगलिगे दौडमा मरिहत्ते गर्ने व्यक्तिले सांसद पंक्तिलाई भेडा–बाख्राभन्दा बढी नठानेको तथ्य सावित गर्न थप दसी जुटाइरहन पर्दैन । नागरिकता त्याग र पुनः प्राप्तिमा कानुन छलेको आरोपमा अदालतबाट दोषी ठहर भई सजायसमेत पाइसकेको व्यक्तिले थोरै मात्र भए पनि नैतिकता देखाउन आफ्नै दलका अरू योग्य साथीलाई गृहमन्त्रीमा अघि सार्न छोडेर आफैं त्यसका निम्ति मरिमेट्न अग्रसर हुनु भनेको राजनीतिक चरित्र र संस्कारको दारुण दरिद्रताको प्रदर्शन पनि हो । भेडाका बथानमा लुकेको ब्याँसो प्रकट हुनुको विद्रुप पनि हो । यति भनिसकेपछि महाकवि लक्ष्मीप्रसाद देवकोटाले आफ्नो समयमा ‘प्रभुजी मलाई भेडा बनाई दिनोस् !’ किन भनेका रहेछन्, त्यो अभिव्यक्ति आफैं त्यसभित्रको कथाव्यथा प्रकट गर्न पर्याप्त छ !
प्रतिक्रिया