राष्ट्रिय सभा उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल निर्विरोध निर्वाचित हुनु भएको छ । निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा आज गरिंदैछ । आज बस्ने राष्ट्रिय सभा बैठकबाट उपाध्यक्ष पदमा अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गर्न लागिएको हो ।
सत्ता साझेदार दलहरुको तर्फबाट अर्यालले उम्मेदवारी दिनु भएको थियो । नेपाली कांग्रेसले उम्मेदवारी नदिने निर्णय गर्दै अर्याललाई निर्विरोध हुन सघाएको थियो । यसअघि उपाध्यक्ष रहेकी शशीकला दाहालको चार वर्षे कार्यकाल २०७८ सालमै सकिएको थियो ।
राष्ट्रिय सभाको आजको बैठकको कार्यसूचीमा अर्याललाई राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निवार्चित गरियोस् भन्ने प्रस्ताव पेश हुने, सो प्रस्तावलाई समर्थकले समर्थन गर्ने, उम्मेदवारको विषयमा संक्षिप्त छलफल हुने र राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले अर्याललाई राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम छ ।
पर्साको वीरगञ्ज महानगरपालिका–२३ गण्डक चोक स्थायी ठेगाना भएकी अर्याल मधेश प्रदेशबाट २०७८ साल माघमा राष्ट्रिय सभा सदस्य निर्वाचित हुनु भएको थियो । २०६९ सालमा नेकपा एमाले छाडेर माओवादी केन्द्र प्रवेश गर्नु भएकि अर्याल ६६ वर्ष पुग्नु भएको छ ।
नेकपा मसाल पृष्ठभूमिकी अर्यालले २०४७ सालसम्म महिला विकास अधिकृतको रुपमा काम गरेको अनुभव रहेको छ । उक्त पदबाट राजीनामा दिएर २०४८ सालमा उहाँ नेकपा एमालेको राजनीतिमा होमिनु भएको थियो । अर्याल झलनाथ खनाल नेतृत्वको सरकारमा स्थानीय विकास मन्त्रीसमेत वन्नु भएको थियो ।
प्रतिक्रिया