देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाली पासपोर्ट लिएको हुँ, दुरुपयोग गरेको छैन: रवि

देशान्तर

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले अमेरिकी राहदानी र नागरिकता नत्याग्दै नेपाली राहदानी (पासपोर्ट) लिएको स्वीकार गरेका छन् । तर उनले आफूले त्यसको दुरुपयोग नगरेको बताएका छन् ।

आइतबार राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा उनले अमेरिकाबाट नेपाल बस्ने गरी फर्केपछि नेपालमा बसोबास गर्दा चाहिने कागजातहरु बनाएको बताए । ‘नेपालमा बस्नेका लागि के के चाहिन्छ त्यो लिन थालें । त्यसको सदुपयोग, दुरुपयोग, उपयोग केही पनि गरिनँ, जुन दिन अमेरिकी पासपोर्ट र सिटिजनसिप (नागरिकता) बुझाएपछि मात्र त्यसबाट ट्राभल गरें ।’

१२–१४ वर्ष बसेको देश अमेरिकाको कागजात च्यातेर हिंड्न नमिल्ने भन्दै उनले त्यहाँ आफ्नो व्यापार, व्यवसाय, दायित्व र ऋण रहेको बताए । तर स्थायी रुपमा नेपाल फर्किएपछि भने अत्यावश्यक कागजातहरु बनाउन थालेको उनको भनाइ छ । ‘आफ्नो देशका लागि चाहिने पासपोर्ट बनाउँदै गर्छु भनेर सोझो चिताएर काम गरेको हुँ, त्यसको कुनै दुरुपयोग गरेको छैन’ लामिछानेले भने ।