काठमाडौं – नेपाल र मलेसियाबीच श्रम समझदारी परिमार्जन गर्ने समझादारी भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहनुभएका मलेसियाका गृहमन्त्री दतुक सेरी सैफुद्दिन नासुसन इस्मालीको टोलीले गरेको भेटपछि दुवै पक्षबीच सो समझदारी भएको हो ।
यसका लागि दुवै पक्षका सम्बन्धित निकायले आपसी सहकार्य गर्ने समझदारी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नेपाल र मलेसियाबीच २०७५ कात्तिकमा श्रम समझदारी भएको थियो । सो अवसरमा दुवै देशबीच उच्च राजनीतिक तथा प्रशासनिक तहमा भेटघाट तथा सम्वाद बढाउँदै व्यापार, लगानी, पर्यटन, आर्थिक विकासलगायत क्षेत्रमा मिलेर काम गर्ने विषयमा छलफल भएको थियो ।
सो अवसरमा प्रधानमन्त्री दाहालले मलेसियामा रहेका नेपाली कामदारको हित, सुरक्षा र कल्याणको विषय सुनिश्चित गर्नुपर्नेमा जोड दिए । भेटमा प्रधानमन्त्री दाहालले मलेसिया सरकारका तर्फबाट श्रमिकको न्यूनतम ज्याला, एक हजार दुई सय रिङ्गेटबाट वृद्धि गरेर एक हजार पाँच सय बनाएकामा धन्यवाद दिए । यसका साथै फ्रि भिसा र फ्रि टिकटको व्यवस्थालाई अझै कडाइका साथ लागू गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्रीले यसो गर्न सकेमा रोजगार क्षेत्रलाई थप व्यवस्थित बनाउन सकिने बताए ।
प्रधानमन्त्री दाहालले मलेसियामा नेपाली श्रमिक इमान्दार र परिश्रमीका रूपमा सुपरिचित भएको उल्लेख गर्दै भविष्यमा नेपाली श्रमिकको सङ्ख्यामा वृद्धि गर्न मलेसिया सरकारलाई आग्रह गरे । उनले मलेसियामा नेपाली श्रमिक र श्रम क्षेत्रलाई खुला, पारदर्शी, विश्वासिलो, प्रभावकारी र व्यवस्थित बनाउने विषयमा मलेसिया सरकारको सहयोग आवश्यकसमेत रहेकामा जोड दिए।
प्रतिक्रिया