काठमाडौं- नेपाली कांग्रेसका उपसभापति पूर्ण बहादुर खड्काले कांग्रेस एमाले सम्मिलित वर्तमान सरकारमा सहभागी नहुने बताएका छन् । बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस गृहराज्यमन्त्री मात्रै पाए पनि सरकारमा आउने भन्दै दिएको अभिव्यक्तिको प्रतिवाद गर्दै उपसभापति खड्काले यस्ता भ्रमबाट मुक्त हुन आग्रह गरेका हुन् ।
शुक्रबार सामाजिक सञ्जालमा एक सन्देश लेख्दै खड्काले भनेका छन्, ‘एमाले सम्मिलित वर्तमान सरकारमा नेपाली कांग्रेस सहभागी हुने भन्ने कुरा सञ्चारमाध्यममा जहाँ जसरी सम्प्रेषण भएको भए पनि यो सम्भव छैन । काँग्रेस सहभागी हुँदैन ।’
उनले कांग्रेस सरकारमा नजाने कुरामा ढुक्क रहन आग्रह गर्दै सबैखाले भ्रमबाट मुक्त हुन जरुरी रहेको समेत उल्लेख गरेका छन् । सबै ढुक्क हुनुस्, यस्ता सबै खाले भ्रमबाट हामी सबै सम्बन्धितहरु मुक्त हुन जरुरी छ।’ उनले लेखेका छन् ।
नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएकोप्रति एमाले संशकित बन्दै आएको छ ।
बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग बोल्दै एमाले अध्यक्ष ओलीले कांग्रेस राज्यमन्त्री पाए पनि सरकारमा आउने टिप्पणी गरेका थिए ।
प्रतिक्रिया