काठमाडौं- प्रतिनिधिसभा सदस्य तथा नागरिक उन्मुक्तिका सचेतक अरुणकुमार चौधरी जेल चलान भएका छन् । बिहीबार पक्राउ परेका चौधरीलाई जिल्ला अदालत कैलालीमा पेस गरी अदालतको कैदी पुर्जी लिएर प्रहरीले शुक्रबार बिहानै जेल चलान भएका हुन् ।
सांसद चौधरीलाई शुक्रबार कार्यालाय खुल्नासाथ १० बजे नै अदालत पेस गरिएको थियो । फरार प्रतिवादीको सूचीमा रहेका चौधरी बाँकेमा बिहीबार पक्राउ परेका हुन् । चौधरीलाई कोहलपुरबाट पक्राउ गरिएको थियो ।
चौधरी संसदीय निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार बनेर कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । उनै प्रतिनिधि सभा सदस्य चौधरी विगत १० वर्षदेखि प्रहरीको फरार सूचीमा रहेका थिए ।
उनलाई ट्याक्टर जलाएको सरकारीवादी फौजदारी मुद्दामा जिल्ला अदालत कैलालीको फैसलाले करिब १० वर्ष पहिले ६ महिना कैद तोकेको थियो । तर, अदालतको उक्त फैसलाअनुसार उनले कैद सजाय भुक्तान नगरी फरार बनेका थिए ।
२०६६ सालमा ट्याक्टरमा आगजनी गरेको मुद्दामा उनीसहित ३ जनालाई कैलाली जिल्ला अदालतले ६ महिना कैद र ८ लाख ७५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।
प्रतिक्रिया