देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सार्वजनिक कार्यक्रममा सहभागी मिस नेपाल

देशान्तर

काठमाडौं। मिस नेपालको ताज पहिरिएपछि निकिता चन्दक सोमबार पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी भइन् । विश्व वातावरण दिवसको अवसरमा सदर चिडियाखानाले आयोजना गरेको प्रभातफेरि तथा पुरस्कार वितरण समारोहमा मिस एसिया प्यासिफिक सहारा बस्नेतसँगै मिस नेपाल चन्दक सहभागी भएकी हुन् ।

 

झण्डै एकघण्टाको प्रभातफेरिमा उनीहरु दुवैजना सहभागी भए । प्रभातफेरिपछि जाउलाखेलको खेल मैदानमा कार्यक्रम आयोजना भयो । कार्यक्रममा संरक्षणविद, ललितपुर महानगपालिकाका जनप्रतिनिधि, संस्कृतिविद तथा शताब्दी पुरुष सत्यमोहन जोशी र बिभिन्न विद्यालयका विद्यार्थीहरुको सहभागिता थियो ।

 

कार्यक्रमको सुरुमा चिडियाखानाको मयुरले अतिथिहरुलाई स्वागत गर्यो । मयुरको भेषमा कलाकारले प्रस्तुति देखाएका भएपनि झट्ट हेर्दा चिडियाखानाकै मयुर बाहिर निस्केर स्वागतमा सहभागी भएको जस्तो देखिन्थ्यो । मयुरले अरु अतिथिसँगै मिस नेपाललाई पनि माला लगाइदियो । चुच्चोमा अबीर दलेर निधार र गालामा टीका लगाइदियो । यो दृश्य कार्यक्रमको सबैभन्दा बढि आकर्षक देखिन्थ्यो ।

 

प्रकृतिसँग हाम्रो सम्बन्ध रहीरहोस् अनन्त भन्ने नाराका साथसदर चिडियाखानाको संयोजनमा कार्यक्रम भएको हो । संस्कृतिविद तथा शदाब्दी पुरुष सत्यमोहन जोशीले धेरै प्राकृतिक सम्पदा लोप हुन लागेकाले त्यसको संरक्षणमा अहिलेको पुस्ता सजक हुनुपर्नेमा जोड दिनुभयो ।

 

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ललितपुरभित्रका सम्पदा तथा वातावरण संरक्षणको लागि आफूले काम गर्ने प्रतिबद्धता जनाउनुभयो । राष्ट्रिय प्रकृति संरक्षण कोषका संरक्षण दूत तथा मिस नेपाल निकिता चन्दक र मिस एसिया प्यासिफिक सहारा बस्नेतले वातावरण संरक्षणमा सबैलाई प्रतिबद्ध हुन आग्रह गर्नुभयो ।

 
कोषका कार्यक्रम संयोजक सरिता ज्ञवालीले प्रकृति र वातावरण संरक्षणको लागि सम्बन्धित सबै निकाय जागरुक हुनुपर्ने बताउनुभयो । प्रकृतिको सन्तुलनले मात्र मानव अस्तित्वको संरक्षण हुन सक्ने भन्दै यस वर्ष यो नारा तय गरिएको हो । संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक वर्षको जुन ५ लाई विश्व वातावरण दिवसका रूपमा मनाइने गरिन्छ ।