देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कालोसूचीमा पर्ने ऋणी तीन गुणाले बढे

देशान्तर

बैंकहरुमा तरलता अभाव, ब्याजदर वृद्धि र मागको संकुचनले ऋण तिर्न नसकेर कालोसूचीमा पर्ने व्यवसायीको संख्या वृद्धि भएको छ । कोभिडका कारण शिथिल उद्योग व्यवसाय तंग्रिन नपाउँदै बैंक तथा वित्तीय संस्थाको ब्याज दर महँगिएपछि व्यवसायीहरू ऋणको पासोमा पर्न थालेका छन् । पछिल्लो साढे ६ महिनामा ऋण तिर्न नसकेर कालोसूचीमा पर्ने व्यवसायीको संख्या तीन गुणाले बढेको हो ।

चालू आर्थिक वर्षको १५ माघसम्म १३ हजार दुई सय २६ ऋणी कालोसूचीमा परेका छन् । यो संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा तीन गुणाले बढी हो । चालु आर्थिक वर्षको साढे ६ महिनामा कालोसूचीमा पर्नेको संख्या अघिल्लो सिंगो आर्थिक वर्षको भन्दा धेरै हो । ०७८÷७९ मा वर्षभरि १३ हजार दुई सय १६ जना ऋण तिर्न नसकेर कालोसूचीमा परेका थिए । त्यस्तै पछिल्लो समय बदनामीको त्रासले एकपछि अर्को व्यवसायी आत्मदाह गर्नेसम्मको निर्णयमा पुगेका घटना पनि बढ्न थालेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्र नियमनको चपेटामा पर्दा व्यावसायीसमेत समस्यामा पर्ने गरेको वताउनु भयो । अर्थतन्त्रको गतिलाई एक्कासी सुस्त बनाउँदा दुर्घटना निम्तिएको र त्यसबाट व्यवसायीले आत्महत्या गर्ने समस्या बढेको उहाँको भनाई छ ।

उता बैंकिङ क्षेत्रले खराब कर्जाको नवीकरण गर्ने गरेको भन्दै अन्तर्राष्ट्रिय मुद्रा कोषले नेपालको वित्तीय प्रणालीमा प्रश्न उठाउँदै आएको छ । पछिल्लो समय बैंकबाट कर्जा नपाएपछि व्यवसायीले एक–अर्कालाई चेक बाउन्स गर्ने प्रवृत्ति बढ्दै जाँदा कालोसूचीमा ऋणीको संख्या पनि बढ्दै गएको नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले वताउनु भयो । अधिकांश व्यापारीले बैंक चेक दिएर उधारोमा कारोबार गर्ने भएकाले चेक बाउन्स बढी हुन थालेको छ ।