देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रास्वपालाई गृह मन्त्रालय नदिने प्रधानमन्त्रीको अडान

गृह नपाए सरकारबाट बाहिरिने रविको चेतावनी

देशान्तर

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई गृह मन्त्रालय नदिने अडान लिएका छन् । मंगलबार बिहान भएको भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले रास्वपाका सभापति रवी लामिछानेलाई भर्खरै नागरिकता लिएकाले गृह मन्त्रालयको जिम्मेवारी दिन नसकिने बताएका हुन् ।

लामिछानेले भने गृहमन्त्रालयको जिम्मेवारी नपाए सरकार छोड्ने चेतावनी दिएका छन् ।

प्रधानमन्त्री प्रचण्डसँग सभापति रवि लामिछानेले गरेका दुई भेटमा प्रगति नभएको पार्टी महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले बताए । पार्टी सभापति रवि लामिछाने आइतबार र मंगलबार बिहान प्रधानमन्त्रीलाई भेटेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्री प्राप्त गर्ने निर्णय प्रधानमन्त्रीले गरेपछि मात्रै आफ्नो दलमा कसलाई पठाउने भनेर छलफल हुने उनले बताए । गृहमन्त्री आफ्नो दलले प्राप्त गर्ने प्रधानमन्त्रीले निर्णय लिएपछि मात्रै सांसद वा गैरसांसद कसलाई पठाउने पार्टीभित्र छलफल गरिने ढकालले बताए ।

नागरिकता सम्बन्धी विवादका कारण रविले उपप्रधानमन्त्री तथा गृहमन्त्री पद गुमाएपछि नेकपा माओवादी केन्द्रले गृह मन्त्रालय आफैंसँग राख्न खोजेको छ । तर प्रधानमन्त्री प्रचण्डमाथि सत्ता साझेदार दल नेकपा एमाले र रास्वपाबाट गृह मन्त्रालय पुनः रास्वपालाई नै दिनुपर्ने दबाव छ ।

रविले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेको भन्दै सर्वोच्च अदालतले शुक्रबार उनको सांसद पद खारेज गरेको थियो । त्यससँगै उनले उपप्रधानमन्त्री तथा गृहमन्त्री पद गुमाएका थिए । गत आइतबार उनले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नेपाली नागरिकता लिएका थिए ।